भारतको राजस्थानस्थित कोटामा कोरोना संक्रमितहरू क्रमशः घट्दै गएको भए पनि आईसीयू र भेन्टिलेटर भरिभराउ छन् ।
यसैबीच एमबीएस अस्पतालको आइसोलेसन वार्डमा एक महिनादेखि भर्ना गरिएकी महिलालाई अस्पतालले बेवास्ता गर्दा मृत्यु भएको छ ।
अस्पतालमा आईसीयू र भेन्टिलेटर खाली भए पनि रोगीलाई त्यो उपलब्ध नगराएको उनका नातेदारको आरोप छ । एक घन्टासम्म चिकित्सकलाई भेन्टिलेटर दिलाउन बिन्तीभाउ रोइकराइ गरेको र त्यसैबीचमा रोगीको मृत्यु भएको नातेदारहरू बताउँछन् ।
आफ्नी हजुरआमा बीना देवीलाई अस्पतालले बेवास्ता गरेकाले ज्यान गएको नाति चन्दनको आरोप छ ।
आइसोलेसन वार्डमा अक्सिजनमा राखिएकी बीनाको स्वास्थ्य बुधवार बिहान बिग्रिएपछि वार्डमा रहेका चिकित्सकलाई भेन्टिलेटरमा सारिदिन अनुरोध गरेको भए पनि खाली छैन भन्दै कटु जवाफ फर्काएको चन्दन बताउँछन् ।
अझ चिकित्सकले ‘यिनलाई लिएर गए हुन्छ, कुनै नेतालाई चिनेको छ भने फोन गर्न लगाउनु, तपाईंको काम हुन्छ’ भने ।
तर आईसीयूमा हेर्दा एउटा भेन्टिलेटर खाली देखेको चन्दन बताउँछन् । त्यसको तस्वीर खिचेर चिकित्सकलाई देखाएर त्यहाँ सारिदिन चन्दनले बिन्तीभाउ गरेका थिए । तर कठोर मुटु भएका चिकित्सकको मुटु पग्लिएन, उल्टो उनले नेताको सोर्सफोर्स लगाउने सल्लाह दिए ।