
वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख ९१ वर्षीया शान्ति कार्कीले कोरोनाभाइरस (कोभिड- १९) को संक्रमणलाई जित्न सफल भएकी छिन्।
महानगरपालिकाद्वारा वीरगञ्जको गोपाल मन्दिरमा सञ्चालित आइसोलेसनमा १५ दिन जति बसेर उनले कोरोना संक्रमणलाई जितेकी हुन् । कोरोना नेगेटिभ भएको रिपोर्ट आएपछि उनलाई बिहीवार डिस्चार्ज गरिएको छ ।
जनप्रतिनिधि भएर विभिन्न मानिससँग भेटघाट हुने भएपछि स्वाब जचाउन परिवारले आग्रह गरेपछि उनले स्वाब दिएकी थिइन् ।
एक दिनपछि आएको रिपोर्टमा कोरोना पोजेटिभ देखियो । केही दिन त घरमा नै होमआइसोलेट भएर बसेकी उनलाई त्यसपछि महानगरले सञ्चालन गरेको आइसोलेसनमा भर्ना गराइएको थियो ।
त्यहाँ बसेर उनले आफ्नो आत्मबललाई कहिल्यै पनि खस्न दिइनन्। ‘यो रोगमा सबैभन्दा ठूलो कुरा आत्मबल नै हो, आत्मबल खस्यो, डरायो, आत्तियो भने मानिसलाई रोगले थप च्याप्ने गर्छ,’ कार्कीले भनिन्,‘त्यो कुरा मलाई पहिलादेखि पनि थाहा थियो, मैले कुनै पनि दिन आफ्नो आत्मबललाई गिर्न दिइनँ।’
ब्रस गरेपछि जिबिया गर्दा जिब्रो खस्रो हुने तथा खाना नमिठो लाग्ने, खाना नै कहिल्यै नरुच्ने गरेको अनुभव उनले सुनाइन् ।
‘स्वाद गएको थियो, खाना कहिल्यै रूचेन, मलाई त्यति समस्या मात्र भएको थियो,’ उनले लोकान्तरसँग भनिन्, ‘खोकी नभए पनि कफ कहाँबाट त्यति आउँथ्यो त्यो पनि थाहा पाउन सकिनँ। ’
आइसोलेसनको माथिल्लो तल्लामा उनलाई राखिएको थियो। महानगरपालिकाले पठाउने गरेको खाना, खाजा खाने गरेको उनले बताइन्। ‘मैले पहिलेदेखि घरमा पनि एक टाइम दूध र रोटी खाने गरेकी थिएँ, त्यहाँ पनि राति दूधरोटी नै खाएँ,’ उनले थपिन्, ‘खाना नरुचे पनि दाल भात तरकारी खाने गर्थें।’
सबैभन्दा बढी तातो पानी र दालको सूप खाएको उनले सुनाइन्।
१५ दिनसम्म कफको सिरप खाएको जानकारी उनले दिइन् । ‘महानगरपालिकाबाट खटिएका भोलेन्टियरको स्वस्थ्यकर्मीहरू बिहान, दिउँसो, बेलुका गरेर तीन टाइम आउने गरेका थिए,’ उनले भनिन्, ‘त्यही कफ सिरफ खायो कि खाएन हेर्ने तथा अक्सिजन लेभल कति छ भन्ने कुरा अक्सिमिटरबाट जाँच गरेर जाने गरेका थिए।’
कोरोना संक्रमणपछि सबैभन्दा बढी समस्या श्वासप्रश्वासमा हुने गर्छ । आफूलाई भने श्वासप्रश्वासमा समस्या नभएको उनले सुनाइन् । ‘बिहान ५ बजे उठेर शौचालयमा शौच गरेर, ब्रस गरेपछि माथि घुम्ने गर्थें,’ उनले भनिन्, ‘त्यसपछि एक्सरसाइज गर्ने, स्वास लामो तान्ने योग गर्ने गर्थें।’
दिनमा टाइम पास गर्न एक्लै तास पट्याउने, खेल्ने तथा भजनको किताब पढ्ने गरेको उनले बताइन्।
‘एउटा बिरामीको अर्को बिरामीसँग कुनै पनि किसिमको भेटघाट हुँदैन्थ्यो,’ उनले भनिन्,‘त्यसपछि मैले आफैंले लेखेको भजन किताब र म को हुँ भन्ने किताब पढ्ने गर्थें ।’ आ-आफ्नो कोठामा बिरामीहरू एक्लै भएपनि सुरक्षाको भने राम्रो व्यवस्था थियो।
जन्मिएपछि एक न एक दिन मान्छे मर्नु नै छ, तर कोरोनाका कारण कोही पनि नमरून् भन्ने उनको चाहना छ । आफ्नो ज्यान बचाएकोमा उनले भगवानलाई धन्यवाद पनि दिइन् ।
‘जनताले भोट दिएर जिताए, तर यस्तो महामारीमा जनतालाई सेवा गर्न नपाउँदा मलाई दु:ख लागेको छ,’ उनले भनिन् ।