२५ असार २०८३, बिहीबार

माओवादीले कोरोना नियन्त्रणका लागि पार्टी संगठन परिचालन गर्ने

जेठ ६, २०७८
माओवादीले कोरोना नियन्त्रणका लागि पार्टी संगठन परिचालन गर्ने

नेकपा माओवादी केन्द्रले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि पार्टीको सबै समितिलाई परिचालित गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीवार बसेको स्थायी समितिको बैठकले कोरोना नियन्त्रणका लागि पार्टीका सबै पंक्ति परिचालित गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए ।

माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा कोभिड नियन्त्रण युनिट गठन गरेको छ । सो युनिटका सातै प्रदेश, सबै जिल्ला र सबै पालिका र वडामा आगामी ५ दिनभित्र समिति गठन गर्ने र आवश्यक रूपमा परिचालन गर्ने निर्णय भएको स्थायी समिति सदस्यसमेत रहेका नेता पुनले जानकारी दिए ।

ती समितिले सचेतना फैलाउने, बिरामीहरूलाई सहजीकरण गर्नेछ । जनप्रतिनिधि, केन्द्र र प्रदेश सहितका निर्वाचित पदाधिकारी र पार्टी सदस्यबाट सहयोग जुटाएर कोभिड कोष खडा गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ ।

त्यसबाट औषधि, उपकरण खरिद एवं संकलन गरी बढी प्रभावित क्षेत्रमा वितरण गरिने छ । कोभिड–१९ रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामबारे प्रधानमन्त्रीको ध्यानकर्षण गराउने निर्णय समेत बैठकले गरेको छ । 

माओवादी केन्द्रले प्रभावकारी काम नगरेको भन्दै सीसीएमसी खारेजीको माग गरेको नेता पुनले जानकारी दिए । ‘सीसीएमसीले काम गर्न सकेन, त्यसलाई संविधानले कानूनले पनि चिन्दैन । प्रधानमन्त्रीको नेतृत्वको विपद् व्यवस्थापन समिति या गृहमन्त्रीको नेतृत्वमा रहेको विपद् व्यवस्थापन प्राधिकरणलाई क्रियाशील बनाउनुपर्छ,’ उनले भने । 

प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन पनि माओवादी केन्द्रले माग गरेको छ । पार्टीले अत्यावश्यक बाहेकका राजनीति नियुक्ति रोक्न, अनुपयुक्त क्षेत्रको खर्च घटाएर कारोना नियन्त्रणमा परिचालन गर्न सरकारसँग माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्