
कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन ल्याइएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ मा प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समितिको व्यवस्था गरिएको छ ।
सोहीअनसार प्रधानमन्त्रीका अध्यक्षतामा १० सदस्यीय निर्देशक समितिसमेत गठन गरिएको एक मन्त्रीले जानकारी दिए । समितिका सदस्यमा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या, गृह, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्रमन्त्री, मुख्य सचिव र प्रधानसेनापति रहने व्यवस्था गरिएको छ ।
निर्देशक समितिले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा सुरक्षा र आपूर्ति व्यवस्था तथा बाह्य सहयोगका लागि सम्बन्धित निकायलाई परिचालन गर्ने सक्ने जनाइएको छ । यसअघि यो कार्य सीसीएमसीले गर्दै आएको थियो । नयाँ व्यवस्थापछि सीसीएमसीको अस्तित्वमा नरहने बताइएको छ ।