काठमाडौं, १८ जेठ –निर्वाचित जनप्रतिनिधिले आफूखुसी निर्णय गर्न थालेपछि सरकारले त्यसमा अंकुश लगाएको छ । मूख्यसचिवको संयोजकत्वमा बिहीवार बसेको विभिन्न मन्त्रालयका सचिवहरूको निर्णयले स्थानीय तहलाई आफ्नो अधिकार क्षेत्रभित्र रहेरमात्र निर्णय लिन निर्देशन दिएको हो ।

मूख्यसचिव डा. सोमलाल सुवेदीको संयोजकत्वमा अर्थ सचिव, संघीय मामिला तथा स्थानीय सचिव लगायत सम्मिलित बैठकले सरकारले तोकेको कार्यक्षेत्रभित्र रहेर निर्णय लिन स्थानीय तहलाई निर्देशन दिएको स्थानीय मन्त्रालयका एक अधिकारीले लोकान्तरलाई बताए ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले वृद्व भत्ता लगायतमा आफ्नो कार्यक्षेत्र नाघेर निर्णय लिन थालेपछि सरकारले त्यसलाई रोक्न अंकुश लगाएको हो ।
सरकारले बुधवार नै स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश –२०७४ जारी गरी तत्कालका लागि स्थानीय तहको काम, कर्तव्य र अधिकार किटान गरेको छ ।