
प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस लगायत विपक्षी दलहरू सर्वोच्च अदालत जाँदैछन् ।
प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएको भन्दै पुनर्बहालीको मागसहित विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा जाने तयारी गरेको हो । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षले विघटनविरुद्ध कानूनी र राजनीतिक लडाईं लड्ने निर्णय शनिवार गरेका थिए ।
विपक्षी दलहरू कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरू सहित सर्वोच्च जान लागेका हुन् ।
सिंहदबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा सांसदहरू भेला भएर नागरिकता संकलन गरिरहेका छन् ।
माओवादीका सांसदहरू पनि संसदीय दलको कार्यालयमा भेला भएका छन् ।
संसद् भवन बानेश्वरको ल्होत्से हलमा सांसदहरूलाई उपस्थित गराएर नागरिकता र हस्ताक्षर संकलनको तयारी भएको नेपाली कांग्रेसका एक सांसदले जानकारी दिए ।
यसअघि संविधानको धारा ७६ को उपधारा ३ अनुसारको प्रधानमन्त्रीले विश्वासको मत नलिई नयाँ प्रक्रियामा गएको भन्दै शुक्रवार १२ जनाले रिट दर्ताका लागि छुट्टै निवेदन दिएका थिए ।
शुक्रवार ती रिट दर्ता हुन सकेका थिएनन् ।