
कोरोना रोकथामका लागि अक्सिजनको माग बढिरहेका बेला ‘हाम्रो अक्सिजन उद्योग’ले नुवाकोटको त्रिशूली अस्पतालका लागि एक हजार २०० सिलिन्डर अक्सिजन सहयोग गरेको छ ।
राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ, नुवाकोटका अध्यक्ष गोपीप्रसाद कँडेल र व्यवसायी दिनेश ढकालले वागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, नेकपा (एमाले) नुवाकोटका सचिव काशीराज अधिकारीसहितसँगको छलफलपछि सिलिन्डर हस्तान्तरण शुरु गरेका हुन्।
मन्त्री पाण्डेले महामारीका समयमा सहयोग गरेकामा धन्यवाद दिँदै उद्योगी व्यवसायीका लागि काम गर्न सहज वातावरण तयार गरिने बताए ।
नुवाकोटको ककनीस्थित उद्योगले नेपालकै सम्भवतः बढी दैनिक ७०० देखि ७५० सिलिन्डरसम्म अक्सिजन उत्पादन गर्दै आएको छ ।
महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सिआइपी) को सम्मान प्राप्त कँडेल उक्त उद्योगका संस्थापक अध्यक्ष हुन् ।
उहाँले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अक्सिजन अभावका कारण कुनै पनि जिल्लाबासीको ज्यान नजाओस् भन्ने सोचेर सहयोगका लागि प्रोत्साहन गरिएको बताए ।
उक्त सहयोगबारे शनिबार नै अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेलाई जानकारी गराइएको थियो । सिलिन्डर दैनिक १०/१० का दरले पठाइनेछ ।