
सन् १९३० देखि विश्वकप फूटबल आयोजना गर्ने गरिएकोमा अब त्यसमा परिवर्तन गर्न लागिएको छ ।
विश्व फूटबलको सर्वोच्च निकाय फिफाले चारको साटो दुई वर्षमा विश्वकप आयोजना गर्ने प्रस्ताव गरेको छ । शुक्रवार आयोजित वार्षिक बैठकमा धेरै मुलुकहरूले प्रत्येक दुई वर्षको अन्तरमा विश्वकप आयोजना गर्ने विषयको सम्भाव्यता अध्ययनका लागि मत दिएका छन् ।
फिफाका २०९ सदस्यराष्ट्रमध्ये १६६ ले यसको पक्षमा मत दिएका हुन् ।
आर्सनल क्लबका पूर्व व्यवस्थापक आर्सिन वेंगर फिफाका विकास निर्देशक हुन् र उनले गत मार्च महिनामा त्यसको प्रस्ताव राखेका थिए ।
त्यसो त फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरले सन् १९९९ मा पनि यस्तै किसिमको प्रस्ताव ल्याएका थिए । तर त्यतिखेर यसको घनघोर विरोध भएको थियो ।
दुई वर्षमा विश्वकप आयोजना गर्दा राम्रो कमाइ हुने आशाले फिफाले यो प्रस्ताव ल्याएको हो ।
फिफाका बहालवाला अध्यक्ष जियान्नी इन्फान्टिनोले सन् २०२४ पछि अन्तर्राष्ट्रिय खेलतालिकामा परिवर्तन ल्याउन सकिने बताए । दुई वर्षमा विश्वकप आयोजना गर्दा युरोप बाहिरका मुलुकले थप सार्थक खेल खेल्न पाउने उनको तर्क छ ।
तर दुई दुई वर्षमा विश्वकप आयोजना गर्दा यसको महत्त्व घट्ने धेरैजनाको तर्क छ । चार वर्ष कुर्नुपर्ने र त्यसका लागि तयारी गर्नुपर्ने भएकाले विश्वकपको प्रतीक्षा धेरैजनाले गरिरहेका हुन्छन् ।
वेंगर चाहिँ यसविपरीतको तर्क राख्छन् । उनी भन्छन्, ‘च्याम्पियन्स लीग प्रत्येक वर्ष आयोजना गरिन्छ र त्यो निकै प्रतिष्ठित छ । मानिसहरू महत्त्वपूर्ण प्रतियोगिता हेर्न चाहन्छन् ।’
तर दुई वर्षमा विश्वकप आयोजन गर्दा अन्तर्राष्ट्रिय मैत्री खेलहरू बन्द हुन्छन् । हुन त ती यसै पनि अर्थहीन छन् । दुई वर्षे प्रतियोगिता अन्तर्राष्ट्रिय खेल क्वालिफाइङ म्याच मात्र हुनेछन् ।
तर यसले युरोपेली लीगलाई असर पार्ने भएकाले यूईएफएले यसको विरोध गर्ने देखिन्छ । यूरोकप जहिले पनि विश्वकपको दुई वर्षपछि आयोजना गरिन्छ र त्यसलाई यस नयाँ प्रस्तावले सीधै असर पार्छ ।
दक्षिण अमेरिकी मुलुकहरूको कोपा अमेरिका प्रायः विश्वकपकै वर्षमा आयोजना गरिन्छ । त्यसैले विश्वकप दुई वर्षमा गर्दा उनीहरूले पनि क्यालेन्डरमा परिवर्तन गर्नुपर्ने हुन्छ ।
अफ्रिकन कम अफ नेसन्स प्रत्येक दुई वर्षमा आयोजना गर्ने गरिन्छ ।
विश्वकप जहिले पनि घरेलु लीगको सीजनको अन्त्यमा आयोजना गरिने हुनाले खेलाडीहरू बेस्सरी थाकेका हुन्छन् । अझ फिफाले विश्वकप खेल्ने टोलीहरूको सख्या बढाउने निर्णय गरेको छ अनि यूईएफएले पनि च्याम्पियन्स लीगमा भाग लिने क्लबहरूको संख्या बढाएको छ । खेलाडीहरूमाथि त्यसै पनि अतिरिक्त भार छ ।