
प्रतिनिधि सभा विघटनविरुद्ध प्रतिपक्षी दलहरुले सर्वोच्च अदालतमा आइतवार रिट दर्ता गर्ने तयारी रहेपनि आज रिट दर्ता नहुने भएको छ ।
रिट तयार गर्दा गर्दै समय नपुगेकाले आज रिट दर्ता गर्न नभ्याइएको नेकपा एमालेका नेता भीम रावलले जानकारी दिए । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेर अधिवक्ताहरूले रिट तयार गरेका थिए ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि बिहान रिट दर्ता गरिने जानकारी गराए । अधिवक्ता गोविन्द बन्दी, सतीशकृष्ण खरेल, मुक्ति प्रधान योगेन्द्र कार्की लगायतले रिट तयार गरिरहेका छन् ।
राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता समेत रहेका बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, कांग्रेस नेता रमेश लेखक र माओवादी केन्द्रका देव गुरुङ लगायत बसेर रिट तयार गरिरहेको एक नेताले लोकान्तरलाई जानकारी दिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले अवैधानिक प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभाको विघटन अवैधानिक भएको दावीसहित सर्वोच्च अदालतमा जान लागेको बताए ।
सर्वोच्च अदालतमा जाने भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह र उपेन्द्र यादव पक्षका जसपाका सांसदहरु दिनभर बानेश्वरमा भेला भएका थिए ।