
बागमती प्रदेशका एमालेका १४ सांसदले पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । पार्टी हित विपरितको गतिविधि गरेको तथा राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीमा उम्मेदवार रामबहादुर थापा बादललाई भोट नहालेको भन्दै नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डको शनिवार बसेको बैठकले माधव नेपाल पक्षका १४ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
स्पष्टीकरण सोधिएअनुसार आज सबैले सामूहिक रुपमा जवाफ पेश गरेको प्रदेशसभा सदस्य तथा नेत्री अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
जवाफमा सरकारले गरेका गलत कामका बारेमा आफूहरुले निरन्तर खबरदारी गर्दागर्दै पनि सुनुवाइ नभएकाले आफूहरुले आवाज उठाउनु परेको उल्लेख गरिएको छ । यस्तै पार्टीमा मुख्यमन्त्रीले नै गुटबन्दी गरेको लगायतका विषय पनि जवाफमा उल्लेख गरिएको छ ।