
प्रतिनिधिसभा विघटनको विरोधमा रहेको काँग्रेससहितको विपक्षी गठबन्धन सोमबार सर्वोच्च अदालत जाने भएको छ । काँग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह, एमालेको माधव नेपाल समूह र जनमोर्चा सांसदहरुको हस्ताक्षर र नागरिकतासहित सर्वोच्च अदालत जान लागेको हो ।
राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि आह्वान गरेअनुसार गठबन्धनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर १४९ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएको भएपनि राष्ट्रपतिले मान्यता दिएकी थिइन् । लगत्तै केपी ओली नेतृत्वको सरकारले संसद विघटनको सिफारिस गरेको थियो भने राष्ट्रपतिले त्यसलाई सदर गरेकी थिइन् ।
प्रधानमन्त्री पदका दाबेदार देउवाको पक्षमा बहुमत रहेकाले देउवालाई नै प्रधानमन्त्री बनाइनुपर्ने दाबीसहित सर्वोच्च जान लागेको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनका अनुसार आइतबार नै बहुमत सांसदको हस्ताक्षर र नागरिकता जुटिसकेको छ ।
आइतबार नै अदालत जाने भनिए आवश्यक कागजात तयार गर्न ढिलाइ भएकाले आज बिहान १० बजेनै अदालत पुग्ने तयारी भएको छ ।