
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको भावी रणनीति तय गर्न सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले स्थायी कमिटीको बैठक शुरू भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार अपराह्न बैठक शुरू भएको हो ।
बैठकमा मुख्यतः कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने माधव नेपाल पक्षका नेतहरूमाथि कार्वाहीको एजेण्डामा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
शनिवार स्थायी कमिटी बैठकले नेपाल पक्षका ११ जनालाई कारवाही गर्ने तयारी गरेको थियो ।
यसअघि गत चैत्र महिनाका ६ महिनाका लागि निलम्बन गरिएका माधव नेपालसहित ४ नेताको कारवाही केही दिन पहिले फुकुवा गरिएको थियो ।
गुटगत क्रियाकलाप जारी राखेको तथा पार्टी हितविपरीत काम गरेको भन्दै नेपाल पक्षका नेताहरूमाथि कारवाहीको तयारी रहेको स्रोतले बतायो ।
यस्तै बैठकमा चुनावका लागि राष्ट्रिय सरकार बनाउने तथा बजेटको विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार प्रेस चौतारीसम्बद्ध पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले प्रतिनिधि सभामा रहेका सीट संख्याको आधारमा सहमतिको सरकार बनाउन सकिने धारणा राखेका थिए ।
आफ्नै नेतृत्वमा बन्ने चुनावी सरकारले निष्पक्ष निर्वाचनको ग्यारेन्टी गर्ने ओलीले बताएका थिए ।
ओलीले जेठ १५ मा अध्याधेशबाट आउने बजेटमा आफूले यसअघि गरेका प्रतिबद्धता समेटिने बताएका थिए ।