२१ जेठ २०८३, बिहीबार

छोराछोरीले पठाएको रकमले अस्पताललाई अक्सिजन सिलिन्डर

जेठ १०, २०७८
छोराछोरीले पठाएको रकमले अस्पताललाई अक्सिजन सिलिन्डर
प्रतिकात्मक तस्वीर

बागमती प्रदेशसभा सदस्य गीता वाग्लेले आफ्ना छोरीछोराले आमा खुवाउने औसीमा अस्ट्रेलियाबाट पठाएको रकमले अस्पताललाई अक्सिजन सिलिन्डर दिएकी छन् ।

वाग्लेले ईच्छाकामना गाउँपालिकाको मुग्लिनमा रहेको मुग्लिन हाईवे हस्पिटललाई ५ सिलिन्डर र एउटा ट्रली उपलब्ध गराएकी हुन् ।
 
वाग्लेले हस्पिटलका अध्यक्ष रामबहादुर लामासँगै मणिरत्न शाक्य, मुक्ति श्रेष्ठ र विनोद श्रेष्ठलाई ती सामग्री सोमवार हस्तान्तरण गरिन् । उनका अनुसार अस्ट्रेलियाको सिड्नीमा रहेकी छोरी रञ्जु वाग्ले थापाले औसीमा पठाएको १ हजार अस्ट्रेलियन डलर र छोरा सुगन्ध वाग्लेले पठाएको १० हजार रुपैयाँले ती सामग्री खरिद गरेर सहयोग गरेको बताइन् ।

सामाजिक क्षेत्रमा क्रियाशील वाग्लेले यसअघि पनि विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएकी छन् । उनले भनिन्, ‘पहाडी क्षेत्रमा कोरोना संक्रमितहरूलाई केही हदसम्म राहत होस् भनेर सहयोग गरेकी हुँ ।’
 
संस्थाका अध्यक्ष लामाले अस्पतालले हाल १० शय्याको निःशुल्क आइसोलेसन सञ्चालन गरेको बताए । समुदायस्तरबाट सञ्चालन भएको सो अस्पताललाई विभिन्न संघ संस्थाले सहयोग गर्दै आएका छन् । लामाका अनुसार २ जना चिकित्सक सहितको अक्सिजन सिलिन्डर राखेर आईसोलेसन चलाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्