
नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमणको आडमा राजनीति गर्न खोजेको आरोप लगाएको छ । संक्रमणको आडमा जनतामा आतंक फैलाएर स्वार्थ सिद्धि गर्ने काममा सरकार लागेको कांग्रेसको ठहर छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधवार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले सरकार संक्रमणको आडमा सत्ता बचाउने खेलमा लागेको निष्कर्ष निकालेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
‘महामारी नियन्त्रणको लागि हामीले सरकारलाई १५ बुँदे सुझाव दिएका थियौं, ती कार्यान्वयन गर्नुको सट्टा सरकार संक्रमणको आडमा राजनीति गर्न खोज्दैछ । दुई दिनभित्र किनमेल गर भनेर सरकारले जनतामा आतंक सिर्जना गरेको छ,’ महतले भने, ‘अस्पतालमा अक्सिजनको सुनिश्चितता, बेडको सुनिश्चितता र दुर्गममा पीसीआर परीक्षण गरेर कोरोना नियन्त्रणतर्फ ध्यान दिएको छैन । सरकारले संक्रमणको आडमा जनतालाई आतंक फैलाएर स्वार्थसिद्धि गर्ने काम गरेको छ ।’
दैनिक ज्यालादारी गर्ने श्रमिक, साना व्यवसायीको जीविकोपार्जनका लागि राहत सुनिश्चित गर्नुपर्ने ठाउँमा आतंकको वातावरण सिर्जना गरेर जनअधिकारलाई निषेध गर्न लागेको उनले आरोप लगाए ।
सहमहामन्त्री महतले प्रतिनिधि सभा विघटन गर्ने सरकार र राष्ट्रपतिको कदमविरुद्ध कानूनी र राजनीतिक लडाईंलाई निरन्तरता दिने निर्णय भएको उनले बताए ।
‘अहिले संक्रमणको अवस्थामा सडकमा उत्रिनु सम्भव छैन, संक्रमण नभएको भए अहिले लाखौं कार्यकर्ता सडकमा उतार्ने थियौं । सामाजिक सञ्जालमार्फत नागरिक परिचालित गर्ने, पार्टीको केन्द्रदेखि वार्डसम्मको संयन्त्र परिचालन गरेर राजनीतिक सन्देश प्रवाह गर्छौं,’ महतले भने ।