
काठमाडौं, १९ जेठ — चितवनकाे भरतपुर महानगरपालिकामा फेरि मतदान नगराउने अन्तिम तयारीमा निर्वाचन आयोग पुगेको छ । हिँजो साँझ निर्वाचन आयोगमा बसेको आयुक्तहरुको बैठक निश्कर्ष बिहीन भएपछि आज फेरि बैठक बसेको हो ।
निर्वाचन आयोग उच्च स्रोतका अनुसार भरतपुरमा च्यातिएका ९० मतलाई बदर मानेर बाँकी मत गन्ने व्यवस्था मिलाउन आयोगले निर्देशन दिँदैछ । ९० मतलाई खारेज गरेर मत गणना सुचारु गर्ने तयारी भएको हो ।
जेठ १४ गते भरतपुर महानगरपालिकामा मतगणना चल्दै गर्दा माओवादी केन्द्रका कार्यकर्ताहरुले मत पत्र च्यातेका थिए । माओवादीकी मेयर उम्मेदवार रेणु दाहाल पछि पर्दै गएपछि उनीहरुले मध्य रातमा मतपपत्र च्यातेका थिए ।
हिँजो गरिएको निरिक्षणमा ९० मत च्यातिएको फेला परेको थियो । ९० मत च्यातिएको जानकारी हिँजो नै निर्वाचन आयोगले प्राप्त गरेको थियो । सोही अनुसार हिँजो साँझ बैठक बसेको थियो । सो बैठक थप कानुनहरु हेर्नुपर्ने भन्दै स्थगित भएको थियो । त्यसपछि आज निर्वाचन आयोगमा आयुक्तहरुको बैठक बसेको हो ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आयुक्तहरुको बैठकले गर्ने निर्णयको बारेमा आफूलाई जानकारी नहुने बताए । तर उनले अहिले आयोगमा बैठक चलिरहेको पुष्टि गरे । आजै भरतपुरका विषयमा केही न केही निर्णय हुने उनले बताए ।
तर लोकान्तरलाई प्राप्त जानकारी अनुसार आयोग मतगणना गराउने तयारीमा छन् । च्यातिएका ९० मत बदर हुने छन् । अब मतगणना गर्दा दलका प्रतिनिधिलाई मत पत्र छुन नदिने तयारी आयोगले गरेको छ ।