दीपायल, १९ जेठ–नेपाली नागरिकलाई अपहरण गरेर लैजान लागेको अवस्थामा हतियारसहित पक्राउ परेका भारतीय प्रहरीलाई नेपाल प्रहरीले स–सम्मान भारतीय क्षेत्रमै लगेर छाडेको छ ।
विना अनुमति नेपाल आएको भारतीय प्रहरीको टोलीले बुधबार मध्यरातमा दिपायल सिलगढी नगरपालिका–८ लडागडाका लालबहादुर आउजीलाई अपहरण गरेको थियो । आफ्नै घरमा सुतिरहेका लालबहादुरलाई कुटपिट गर्दै डोरीले हातखुट्टा बाँधी मुखमा पट्टी लगाएर गाडीमा हाली भारततर्फ लैजान लाग्दा भारतीय प्रहरीका उच्च अधिकारीसहितको टोली पक्राउ परेको थियो ।
खानतलासीको क्रममा उनीहरु भारतीय प्रहरी अधिकारी डिएसपी नागराजसहित नेतृत्वमा रहेको पुष्टि भएको थियो ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रोमेन्द्रसिंह देउजाले माफी मागेपछि उनीहरुलाई छाडिएको बताएका छन् । उनीहरुलाई त्योभन्दा अरु कुनै कारवाही गर्ने कानूनी प्रानधान नरहेको देउजाको भनाइ थियो ।
प्रहरी स्रोतका अनुसार महाकाली अञ्चल प्रहरी कार्यालयको समन्वयमा पक्राउ परेका भारतीय प्रहरीलाई छोडिएको छ । उनीहरुलाई नेपालको कञ्चनपुरसँग सीमा जोडिएको भारतीय सहर बनबासासम्म पुर्याएको महाकाली अञ्चल प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले बताए ।
उनका अनुसार नेपाल प्रहरीको विशेष सुविधायुक्त गाडीमा उनीहरुलाई बनबासा पुर्याएर छाडिएको छ ।
भारतीय प्रहरीले अपरहण गरेर लैजान खोजिएका आउजी भने डोटी प्रहरीको नियन्त्रणमा छन् । कामको सिलसिलामा भारत गएको बेला बैंक लुटपाटमा संलग्न रहेको भन्दै भारतीय प्रहरीले उनलाई अपहरणको शैलीमा पक्राउ गरेर लैजाने खोजेको थियो । आउजीले भारतमा चोरी गरेर नगरेको विषयमा अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ ।
भारतीय प्रहरी विना अनुमति नेपाल प्रवेश गरेको यो पहिलो घटना भने होइन । यसअघि २०७३ वैशाख १२ गते पनि पनि डोटी र अछामको सीमा चौखुट्टेमा भारतीय सुरक्षाकर्मीको टोली पक्राउ परेको थियो । त्यतिखेर पनि विना कारबाही भारतमै लगेर छोडिएको थियो ।