काठमाडौँ, २० जेठ- वर्तमान सत्ता गठबन्धनबाटै प्रधानमन्त्रीमा उम्मेदवारी दिन लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहजै बहुमत जुट्ने देखिएको छ । नेकपा माओवादी केन्द्रसहित वर्तमान सत्ता गठबन्धनमा सहभागी दलहरू नयाँ सरकारमा पनि सहभागी हुने भएकाले देउवालाई प्रधानमन्त्रीमा निर्वाचित हुन आवश्यक मत पुग्ने भएको हो ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलि (आइतबार) व्यवस्थापिका संसद्मा हुने निर्वाचनमा देउवा प्रधानमन्त्रीमा निर्वाचित हुने पक्कापक्की जस्तै भएको नेताहरूले बताएका छन् । पूर्वसहमतिअनुसार सभापति देउवालाई प्रधानमन्त्रीका लागि माओवादी केन्द्रको समर्थन रहेको छ भने वर्तमान सरकारमा सहभागी सबै दल अब बन्ने सरकारमा पनि सहभागी हुने भएका छन् । अहिले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी दलका ३ सय ११ सांसद छन् । प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसद्का सदस्यहरूको बहुमत आवश्यक पर्ने हुन्छ । संसद्मा ५ सय ९३ सांसद रहेका छन् । बहुमतीय सरकार गठनका लागि २ सय ९७ सांसद आवश्यक पर्नेमा देउवाको पक्षमा ३ सय ११ मत अहिले नै जुटिसकेको छ ।
वर्तमान गठबन्धनमा कांग्रेससँग २ सय सात, माओवादी केन्द्रसँग ८२, फोरम लोकतान्त्रिकसँग १७, नेकपा संयुक्तसँग तीन, अखण्ड नेपालसँग एक र समाजवादी जनता पार्टीसँग एक सांसद रहेका छन् । अब बन्ने गठबन्धनमा पनि यी सबै दलको सहभागिता रहने कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले सरकार गठनका लागि पार्टीले छलफल गरिरहेको र आज बस्ने कार्यसमिति बैठकबाट कुनकुन दल सहभागी हुने भन्ने विषयमा पनि निष्कर्ष निकाल्ने बताए, आजको राजधानीमा खबर छ ।