काठमाडौँ, २० जेठ- महानगरीय अपराध महाशाखाका एसपी श्याम ज्ञवालीको कार्यकक्षमा शुक्रबार दिउँसो दुई युवक हस्याङफस्याङ गर्दै प्रवेश गरे । एसपी ज्ञवालीले समस्या सोधेपछि उनीहरूले भने, ‘ठगियौँ सर, क्यानाडा जाने सपनामा बर्बाद भयौँ ।’

ती दुई युवकलाई क्यानाडामा मासिक २८ सय क्यानेडियन डलरको जागिर र मासिक ५ प्रतिशत बोनस दिने आश्वासन दिइएको थियो । क्यानाडाको पिआर (स्थायी बसोबास अनुमति) पनि मिलाउने विश्वास दिलाइएको थियो । क्यानेडियन पिआरको सपना बोकेर उनीहरू केही दिनअघि दिल्ली उडेका थिए । दिल्ली गएपछि दलालहरूको चक्करमा फसेर काठमाडौं फर्किएका उनीहरूले प्रहरीमा उजुरी दिएका हुन्, नयाँ पत्रिकामा खबर छ ।
कमजोर आर्थिक अवस्था भएका उनीहरूमध्ये एकले १८ लाख र अर्काले दलाललाई १६ लाख रुपैयाँ बुझाएका थिए । दलालहरूले धेरै सपना देखाएर आफूहरूलाई ठगेको उनीहरूले बताएका छन् ।
एसपी ज्ञवालीको कार्यकक्षमा दैनिक उनीहरूजस्तै युवाहरू क्यानाडाको सपनामा लाखौँ ठगिएर पुग्ने गरेका छन् । ‘केही वर्षअघि अमेरिका जान भनेपछि नेपालीहरू मरिहत्ते गर्थे, अहिले त्यस्तै अवस्था क्यानाडा जानका लागि छ,’ एसपी ज्ञवाली भन्छन्, ‘क्यानाडा जान भनेपछि आँखा चिम्लिएर मान्छेहरूले पैसा फालेको देख्दा अचम्म लाग्छ । यसरी ठगिएको भन्दै हरेक दिन उजुरी आउने गरेको छ ।’ तुलनात्मक रूपमा भिसा केही सहज भएकाले क्यानाडा पठाउने भन्दै ठगी व्यापक भएको प्रहरी अधिकारीहरू बताउँछन् ।