०३ साउन २०८३, आइतबार
एमाले स्थायी कमिटी बैठक

रोकियो माधव पक्षका नेतामाथिको कारबाही, एकताका लागि अन्तिमसम्म पहल गर्ने

रोकियो माधव पक्षका नेतामाथिको कारबाही, एकताका लागि अन्तिमसम्म पहल गर्ने

नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका माधव नेपाल पक्षका थप नेतामाथिको कारबाही तत्कालका लागि रोकेको छ । सहमतिका लागि प्रयास जारी रहेको भन्दै नेपाल पक्षका १२ जनामाथिको कारबाही रोकिएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको स्थायी कमिटी बैठकमा एकताको लागि भइरहेका छलफलबारे विवेचना भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ‘आन्तरिक एकतालाई सुदृढ गर्नको लागि भइरहेको छलफलको विवेचना गरेका छौं, नेतृत्वको तर्फबाट एकताका लागि अन्तिम सम्म प्रयत्न जारी राख्नेबारे छलफल भएको छ,’ ज्ञवालीले भने ।

यसअघि जेठ १० गते बसेको स्थायी कमिटी बैठकले खनाल नेपाल पक्षका ११ जना नेतामाथि कारबाही गर्दै थप १२ जनासँग स्पष्टीकरण सोधेको थियो । मंगलवारको बैठकमा स्पष्टिकरण सोधिएका १२ जनामाथि कारबाहीको तयारी थियो । तर सहमतिका लागि प्रयास भइरहेको भन्दै कारबाही रोकिएको स्रोतले बतायो । 

पत्रकारहरुको एक प्रश्नको जवाफमा एमाले प्रवक्ता ज्ञवालीले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन केही साथीहरुले महिमा मण्डल गरेका कारण एकताको प्रयास सार्थक नभएको टिप्पणी गरे ।

‘देउवालाई प्रधानमन्त्री बनाउने कुरालाई केही साथीलाई महिमा मण्डल बनाउनु भएको, त्यो प्रयास र एकताको चाहनामा तादम्यता मिल्दैन,’ ज्ञवालीले भने । 

प्रवक्ता ज्ञवालीले पार्टीमा सहमतिका लागि यसअघि गठन गरिएको कार्यदल अस्तित्वमा नरहेकोले नेताहरुबीच छलफल भइरहेको बताए । ‘त्यो पुरानो कार्यदल अस्तित्वमा छैन, कार्यदल पुनर्गठन हुन सक्ला । हामी बेग्लै हिसावले विभिन्न छलफल गरेका छौ’, ज्ञवालीले भने । 

सहमतिको प्रयास स्वरुप एमालेका दुवै पक्षका नेताहरुबीच सोमवार राति पनि छलफल भएको थियो  ।

salt training

कमेन्ट गर्नुहोस्