
जाजरकोट र रुकुम पश्चिमका स्थानीय तहले आन्तरिक मूल्यांकन गरेर वार्षिक नतिजा प्रकाशनको तयारी गरेका छन् ।
सामुदायिक तथा निजी विद्यालय बन्द भएको लामो समय भइसकेको र नयाँ शैक्षिक सत्र शुरू हुने समय भइसकेको भन्दै यस्तो तयारी गरिएको हो ।
कोरोना भाइरसको दोस्रो भेरियन्ट शुरू हुनुभन्दा अघिसम्म सबै स्थानीय तहमा नियमित पठनपाठन भएको थियो ।
जिल्लाका सबै स्थानीय तहका अधिकांश विद्यालयले करीब ८० प्रतिशत पाठ पढाएको बताएका छन ।
नलगाड नगरपालिकाले शैक्षिक सत्र २०७७ मा सञ्चालित त्रैमासिक र अर्धवार्षिक परीक्षाको नतिजा तथा निरन्तर विद्यार्थी मूल्यांकनका आधारमा नतिजा तयार पारी सार्वजनिक गर्न मातहतका विद्यालयलाई भनेको छ ।
नगरका सामुदायिक तथा संस्थागत विद्यालयलाई शैक्षिक सत्र २०७७ को नतिजा तयार पारी प्रकाशन गर्न भनिएको नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिए ।
उनका अनुसार ५ र ८ कक्षाको नतिजा तयार पारी जेठ २० गतेभित्र नगरपालिकामा बुझाउन निर्देशन दिइएको छ । जेठ २५ गतेभित्र कक्षा १, २, ३, ४, ६, ७ र ९ को पनि नतिजा तयार पारी विद्यालयमा टाँस्न भनिएको उनले बताए ।
शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार नगरपालिकामा झण्डै ८५ देखि ९० प्रतिशत पढाइ पूरा भएको छ ।
‘अब पुरानै शैक्षिक सत्रको पठनपाठन सम्भव छैन,’ उनले भने, ‘कोर्स पनि करिब पूरा भइसकेको सन्दर्भमा पुरानो शैक्षिक सत्रको नतिजा तयार पारी नयाँ वर्षको शुरूआत गर्ने तयारी भइरहेको छ ।’
कोरोना महामारी कम हुनेबित्तिकै नयाँ शैक्षिक सत्र असारबाट शुरू गर्ने तयारी गरिएको उनले बताए ।