२८ असार २०८३, आइतबार
संवैधानिक इजलास प्रकरण

हामी नै प्रतिवादी जस्तो गरी साथीहरूले अचम्मको 'आदेश' दिनुभयो– न्यायाधीश केसी [विशेष कुराकानी]

जेठ १९, २०७८
हामी नै प्रतिवादी जस्तो गरी साथीहरूले अचम्मको 'आदेश' दिनुभयो– न्यायाधीश केसी [विशेष कुराकानी]

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि सुनुवाइका लागि गठित संवैधानिक इजलासबाट दुईजना न्यायाधीश अलग भएपछि त्यसले सिंगो न्यायिक क्षेत्रमा तरंग सिर्जन गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासबाट न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराई अलग भएपछि सुनुवाइ २३ गतेसम्मका लागि स्थगित भएको छ ।

न्यायाधीशद्वयले आफूहरू इजलासबाट बाहिरिनुको कारण खुलाउने क्रममा इजलासका अन्य २ न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठतर्फ इंगित गरेका छन् ।

नेकपा एकता बदरसम्बन्धी फैसला गरेका श्रेष्ठ र उक्त मुद्दाको पुनरवलोकन निवेदनलाई निस्सा नदिने केसी इजलासमा बस्न नमिल्ने भन्दै रिट निवेदक पक्षका कानून व्यवसायीले प्रश्न उठाएका थिए ।

तर न्यायाधीशद्वय केसी र श्रेष्ठले यी दुई मुद्दाको कुनै सम्बन्ध नरहेकाले आफूहरूले इजलास नछाड्ने राय पेश गरे ।

त्यसपछि न्यायाधीश कार्की र भट्टराईले इजलास छाड्ने निर्णय मात्र लिएनन्, न्यायाधीश केसी र श्रेष्ठ इजलासमा बस्न नमिल्ने राय समेत पेश गरे ।

नेकपा विभाजन गर्ने फैसला र प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सम्बन्ध छैन भन्न नमिल्ने राय उनीहरूले पेश गरेका छन् ।

यसै सन्दर्भमा लोकान्तरकर्मी अजय अनुरागीले न्यायाधीश तेजबहादुर केसीसँग कुराकानी गरेका छन् ।

प्रस्तुत छ, केसीले लोकान्तरसँग गरेको कुराकानीको सम्पादित अंश उनकै शब्दमा :

माननीय न्यायाधीशज्यूहरूले यसरी राय दिनु उचित हो कि होइन, यो तपाईंहरूले मूल्यांकन गर्ने कुरा हो ।

कानून व्यवसायीहरूसँग सोध्नुस् । सरकारी पक्षलाई सोध्नुस् । हो, त्यही हो कुरो । मिल्दै नमिल्ने हो कुरो ।

वरिष्ठ श्रीमानहरूले रायमा राख्नुभएको कुरामा के भन्ने हो मैले ? मैले पनि त्यो (रायमा उल्लेख गरेको) सिद्धान्त नबुझेको । उहाँहरूले भन्नुभएको सिद्धान्त अहिले अनलाइनमा हेर्दैछु ।

रिट निवेदकका तर्फबाट कानून व्यवसायीले भन्न त भन्नुभएको थियो, तर पछि उहाँहरू चुप लाग्नुभएको थियो।

हामी अब बहस शुरू गर्छौं, हामीलाई त्यस्तो केही समस्या छैन भनेर गोविन्द बन्दीले एक टेलिभिजनमा नै भन्नुभएको थियो।

तर श्रीमानहरू आफू इजलासमा नबस्ने हो भने हामी बस्दैनौं भन्न सक्नुहुन्थ्यो । उहाँहरूले त हामीलाई नै बस्न नहुने गरी राय दिनुभएको छ । त्यो किन दिनुभयो, मैले बुझ्न सकेको छैन। 

म यसरी भन्ने पक्षमा पनि थिइनँ । पत्रकारहरूसँग कुरा पनि गर्दिनँ । गरेको पनि छैन । तपाईंले फोन गर्नुभयो, तपाईंसँगै हो कुरा गरेको । मेरो कसैसँग केही पनि छैन । म पूर्वाग्रह राखेर पनि हेर्दिनँ ।

निवेदकका वकिलहरूले कुरा उठाएका थिए, तर त्यो कुरा सिद्धिसकेको थियो।

मैले अझ उहाँहरूलाई निवेदकले यस्तो माग गरे भनेर भनेको पनि हो । 

यसरी विवाद उत्पन्न हुँदा बस्न उपयुक्त नलागेको हुनाले हामीहरू बाहिरियौं भनेर लेख्नुस्, अरू दुनियाँका कथाहरू किन लेख्नुहुन्छ भनेर भन्दा पनि मान्नुभएन ।

उहाँहरूले दिनुभएको राय अचम्मको भयो । यसबारे लिगल फिल्ड र जुडिसियल फिल्डका मानिसले बोल्लान्

तर, उहाँहरूले बोल्नुहोला जस्तो मलाई लाग्दैन । किनकी मिडियामा यताउता कुरा गरेर, फोन गरेर सबै इन्फरमेसन दिने गरी बनाउनुहुन्छ उहाँहरू । हामीले अहिलेसम्म त्यस्तो गरेका छैनौं, गर्दैनौं पनि ।

उहाँहरूले रायमा व्यक्त गरेका कुराले हामीलाई इम्प्याक्ट पार्दैन । अहिलेसम्म यस्तो राय दिँदा आफ्नो सन्दर्भमा भन्दा समकक्षीको सन्दर्भमा लेख्ने अभ्यास छैन ।

आफ्नै समकक्षी न्यायाधीशविरुद्ध राय आयो । हामी नै प्रतिवादी भएजस्तो गरी हाम्रै विषयमा उहाँहरूले यति लामो राय किन लेख्नुभयो ? यसरी उहाँहरूले राय लेख्नुहुन्छ भन्ने हामीलाई थाहा थिएन ।

उहाँहरूले मिल्दो र सुहाउँदो काम गर्नुभएको जस्तो हामीलाई लाग्दैन। त्यसले हामीलाई केही असर पनि पार्दैन ।

salt training

कमेन्ट गर्नुहोस्