
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटमार्फत गरिएको नेपालको ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने निर्णय सच्चाउन माग गरेका छन् ।
व्यापार घाटा कम गर्ने नाममा भएको यस्तो निर्णयले तराईंलाई मरुभूमीकरण गर्ने उनको आरोप छ ।
बिहीवार सामाजिक सञ्जाल फेसबूकमा छोटो सन्देश लेख्दै प्रचण्डले सरकारले कुर्सी बचाउन राष्ट्र र जनविरोधी निर्णय लिएको आरोप लगाएका हुन् ।
सरकारले बजेटमा निर्माण सामग्री अभाव हुन नदिन रोकिएको नदीजन्य पदार्थ उत्खनन गर्न दिने नीति लिएको थियो ।
‘असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाममा कुर्सी बचाउने र तराईलाई मरुभूमीकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस्,’ प्रचण्डले भनेका छन् ।
ढुंगा, गिटी निकासीबारे विरोध भएपछि अर्थ मन्त्रालयले बुधवार एक विज्ञप्ति प्रकाशित गरी मापदण्ड विपरीत उत्खनन नहुने स्पष्ट गरेको थियो ।