
भारत लगायत ३ गन्तव्यको उडानबाट नेपाल आउने यात्रुका लागि ७८ वटा होटललाई क्वारेन्टीन होटल बनाइएको छ ।
पर्यटन विभागमा दर्ता भएका ७८ वटा होटललाई क्वारेन्टीन होटलको रूपमा सूचीकरण गरिएको हो ।
पर्यटन विभागले बुधवार पर्यटकदेखि पाँचतारे स्तरसम्मका ७८ वटा होटलको नाम क्वारेन्टीन होटलको रूपमा सार्वजनिक गरेको हो । बिहीवारदेखि भारतलगायत कतार, टर्की र चीन गरी ४ गन्तव्यका लागि उडान खुला गरिएको छ । ४ गन्तव्यबाट स्वदेश आउने यात्रुका लागि होटललाई क्वारेन्टीन बनाइएको हो ।
कोरोना महामारी नियन्त्रणका लागि सरकारले भारतलगायत अन्य देशबाट आउने यात्रुलाई अनिवार्य रूपमा १० दिन क्वारेन्टीनमा बस्नुपर्ने व्यवस्था गरेको छ । खाडी मुलुकबाट आउनेले ५ दिन बसे पुग्छ भने विशेष परिस्थिति भएकालाई होम क्वारेन्टीनमा पठाउने व्यवस्था पनि रहेको छ ।
विभागले सार्वजनिक गरेको ७८ वटा होटलमध्येमा पाँचतारे स्तरका ७ वटा होटल रहेका छन् । विभागको सूचना अनुसार काठमाडौंमा सञ्चालित सांग्रिला, होटल र्याडिसन, होटल याक एण्ड यति, ह्यात रिजेन्सी सोल्टी, अलफ्ट होटल र एभरेस्ट होटललाई क्वारेन्टीन तोकिएको हो ।
पाँचतारे होटलका सञ्चालकले २५ भन्दा बढी कोठा क्वारेन्टीनका लागि छुट्याएका छन् ।
चारतारे स्तरका होटल शंकर र होटल हिमालय, तीनतारे स्तरका समिट होटल, अमादब्लम होटल, साम्बाला होटल, ले हिमालय, होटल प्लाटिनम, होटल ट्रेडिसनल कम्फर्ट र होटल ल्याण्डमार्क गरी ७ होटल क्वारेन्टीनका रूपमा सूचीकरण भएका छन् । यसबाहेक पर्यटनस्तरका ५१ होटल र २ रिसोर्ट पनि क्वारेन्टीन सूचीमा समावेश छन् ।
यसअघि नै एयर बबल अवधारण अनुरूप नेपाल भित्रनेहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ८ वटा होटललाई क्वारेन्टीन होटलका रूपमा छुट्याएको थियो ।
होटलमा ७० होटल थप गरी ७८ वटा होटललाई क्वारेन्टीन बनाइएको हो ।
विभागले पर्यटकस्तरका होटलको दैनिक शुल्क ३ हजार (बिहानको खाजा, खाना, दिउँसोको खाजा र साँझको खाना) तोकेपनि तारे होटलकोे शुल्क तोकिएको छैन । तारे होटललाई क्यारेन्टिन होटल बनाइएको भन्दै शुल्क निर्धारण नगरिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए ।
उनका अनुसार तारे होटलका सञ्चालकले क्वारेन्टीन शुल्क आफैं निर्धारण गर्नुपर्नेछ ।