
चीनका राष्ट्रपति सी चिनफिङले सरकारी सञ्चारमाध्यमलाई संसारभरि देशको राम्रो छवि प्रस्तुत गर्ने क्षमतालाई बढाउन आदेश दिएका छन् ।
विश्वका विभिन्न मानिससमक्ष चीनका कथाहरूको आध्यात्मिक तथा विचारधारात्मक पक्षलाई उजागर गर्न उनले निर्देशन दिएका हुन् ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, सीले चिनियाँ कम्युनिस्ट पार्टीको एक अध्ययन बैठकमा साँचो, सटीक र प्रभावशाली चीनको छवि संसारसमक्ष पेश गर्दै विश्वस्तरमा आफ्नो सन्देश फैलाउने क्षमतामा सुधार ल्याउन जोड दिए ।
चीनले आफ्नो राष्ट्रिय शक्ति तथा वैश्विक स्थितिसँग मेल खाने किसिमको अन्तर्राष्ट्रिय आवाज विकसित गर्नुपर्छ, उनले भने ।
चिनियाँ कम्युनिस्ट पार्टीले देशका मानिसलाई खुशी बनाउन प्रयास गरे जस्तै विदेशीहरूलाई पनि आफ्नो सकारात्मक कुरा बताउन जरूरी रहेको सीको भनाइ छ । पार्टीका विषयमा विदेशीहरूको समझ बढाउनका लागि प्रचारप्रसारलाई बलियो बनाउन उनले जोड दिएका छन् ।
यसका लागि देशले व्यावसायिक तथा तालिमप्राप्त मानिसहरूको टोली बनाउनुपर्ने र विभिन्न क्षेत्रका लागि सटीक सञ्चार प्रविधि अपनाउनुपर्ने उनले बताए ।