
काठमाडौं उपत्यकामा अब झण्डै १ महिना मेलम्चीको वितरण नहुने भएको छ ।
सुरुङ पूरै खाली गरेर त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको हो ।
सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा पुनः पानी ल्याउँदा ३०–४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार पहिले पानी झर्ने दरमा नै खाली गर्दा १५ दिन लाग्ने देखिएको छ । २७ किलोमिटर सुरुङको निरीक्षणका लागि १० दिन लाग्नेछ ।
२ वर्ष पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता हुँदा कार्यविधिमा सुरुङमा पानी भरेर पुनः खाली गराएर निरीक्षण गर्ने उल्लेख थियो । उनले भने, ‘कार्यविधिमा अन्तिम काम नै सुरुङ खाली गर्ने हो, खाली गरेर समस्या नभएमा पुनः भरेपछि त्यो कार्ययोजना सफल हुन्छ ।’
झण्डै ३ महिना पहिले पहिलो पटक मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो । अहिले अन्य समस्या भने देखिएको छैन ।
आयोजनाको पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी गत फागुनदेखि नै काठमाडौंमा आउन थालेको छ । समितिले आयोजनाअन्तर्गत २७ किलोमिटर लम्बाइको सुरुङ, ‘हेडवर्क’ र सुन्दरीजलमा २ पानी प्रशोधन केन्द्रको निर्माण गरेको थियो ।
सुरुङ र केन्द्र सम्पन्न भइसके पनि ‘हेडवर्क’को अन्तिम काम भइरहेको आयोजनाले जनाएको छ । शुरू भएको झण्डै २ दशकपछि आयोजना सम्पन्न भएको हो ।
सरकारले समृद्ध नेपालका लागि यसलाई एक सफल आयोजनाका रूपमा लिएको छ ।
सरकारले मेलम्चीकै दोस्रो खण्डका रूपमा यांग्री र लार्के खोलाबाट पानी ल्याउन आवश्यक पूर्वाधारको निर्माण अघि बढाउँदैछ । हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने गरेकामा दैनिक थप ३४ करोड लिटर पानी आउने गरी सो निर्माण अघि बढाउन लागिएको हो ।
सरकारले आगामी आवमा आयोजनाका लागि ३ अर्ब ५१ करोड विनियोजन गरेको छ ।