
अफ्रिकी मुलुक तान्जानियामा महिला सांसद कोन्डेस्टर सिचल्वेलाई धेरै टाइट पाइन्ट लगाएको भन्दै संसद् भवनबाट निकालिएको छ ।
सिचल्वे सत्तारूढ सीसीएम पार्टीकी सदस्य र मन्त्री समेत हुन् । उनका विरुद्ध पार्टीकै पुरुष सांसद हुसैन अमारले गुनासो गरेका थिए । ‘पहेंलो टीशर्ट लगाएकी मेरी सहकर्मी बहिनीलाई हेर्नुस् त । कति टाइट पाइन्ट लगाएकी यिनले ?’ अमारले भने ।
यस घटनाले देशका अन्य महिला सांसदहरूलाई आक्रोशित बनाएको छ र उनीहरूले यसका लागि माफी माग्न आग्रह गरेका छन् ।
अमारको गुनासोपछि सभामुख जोब न्दुगाईले सिचल्वे लाई सदनबाट बाहिर निस्कन र सही कपडा लगाएर आउन आदेश दिए ।
महिला सांसदहरूको कपडाका विषयमा यसअघि पनि गुनासो आउने गरेको उनले बताए । जे पायो त्यही लुगा लगाएर आउने सांसदलाई प्रवेश नै नगराउन सभामुखले अर्दलीहरूलाई आदेश दिएका छन् ।
संसद्को नियमअनुसार महिलाले पाइन्ट लगाउन पाउँछन् तर धेरै टाइट लगाउन पाउँदैनन्, अमारले भने ।
ज्याकलिन न्गोयानी र स्टेला मान्यान्या लगायतका महिला सांसदको एक समूहले यसरी सिचल्वेलाई सदनबाट निकाल्नु सही नभएको र उनको कपडा आपत्तिजनक नरहेको बताएका छन् ।
पुरुषले महिलाको कपडामा टिप्पणी गर्ने अधिकार छैन भनी संसारका अन्य मानिसले पनि आलोचना गरेका छन् ।