
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेका मन्त्रालयमा चित्त नबुझेपछि महत्त्वपूर्ण मन्त्रालय दाबी गर्दै जसपा अध्यक्ष महन्थ ठाकुर शुक्रवार फेरि बालुवाटार पुगेका छन् ।
८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने तयारी गरेको जसपाले प्रधानमन्त्रीले प्रस्ताव गरेका मन्त्रालय हेरफेरको माग गरेको छ ।
जसपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जसपालाई शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्यन, खानेपानी तथा सरसफाइ, भूमिसुधार, श्रम तथा रोजगार, महिला बालबालिका तथा जेष्ठ नागरिक, वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय लिन प्रस्ताव गरेका छन् ।
जसपा नेताहरूसँग सोमवार भएको छलफलमा पूर्व माओवादी खेमाले सम्हालेका मध्ये गृह बाहेकका मन्त्रालय लिने सहमति भएको नेताहरूले बताएका छन् । पूर्व माओवादी
ले लिएकामध्ये उद्योग वाणिज्य तथा आपूर्ति र ऊर्जा तथा जलस्रोत मन्त्रालयमा जसपाले दाबी गरेको छ ।
यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि जसपाले मागेको छ । ‘पार्टीका शीर्ष नेताको व्यवस्थापनका लागि अहिले प्रस्ताव गरिएका मन्त्रालयमा असन्तुष्टि बढेकाले महत्त्वपूर्ण मन्त्रालय माग्न ठाकुर बालुवाटार जानु भएको हो,’ जसपा स्रोतले लोकान्तरसँग भन्यो ।
सोमवार भएको ‘भद्र सहमति’अनुसार जसपाले राजेन्द्र महतोलाई आपूर्ति, शरतसिंह भण्डारीलाई ऊर्जा र अनिल झालाई शहरी विकास मन्त्रालयमा पठाउने तयारी गरेको थियो ।
जसपा सरकारमा सहभागी हुने भएपछि एमालेका तर्फबाट मन्त्री बनेका केहीको जिम्मेवारी हेरफेर र केही बिदा हुने सम्भावना छ ।
मन्त्रालयमा सहमति जुटेमा मन्त्रीहरूको शपथ आजै हुने सम्भावना छ ।