
संसारभरि कोभिड रोगीको उपचार गरिरहेका चिकित्सकहरूले शाब्दिक, भौतिक तथा कहिलेकाहीँ त ज्यानै गुमाउने स्तरको आक्रमणको अनुभव गर्नुपरेको छ ।
यस समस्यालाई तत्कालै सम्बोधन गर्नुपर्ने मानवअधिकार अभियन्ताहरूले बताएका छन् ।
कोरोनाका नयाँ नयाँ भेरिएन्ट आइरहँदा तथा खोप कार्यक्रम सुस्त गतिमा अघि बढिरहँदा स्वास्थ्यकर्मीमाथि आक्रमण बढेका हुन् ।
केही दिनअघि भेरी अस्पतालमा दाङका एक कोरोना रोगीको मृत्यु भएपछि उनका आफन्तले डा चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरेमाथि हातपात गरेका थिए ।
त्यस्तै भारतको असममा एकजना चिकित्सकलाई कोभिडका कारण मरेका रोगीका आफन्तले फोहर फ्याँक्ने डस्टबिन तथा फलामका वस्तुले नराम्ररी कुटपिट गरेको भिडियो गत साता सार्वजनिक भएको थियो ।
इन्टरनेसनल कमिटी अफ द रेडक्रसको पछिल्लो आँकडाअनुसार, कोभिड–१९ सँग जोडिएका ८४८ वटा हिंस्रक घटना सन् २०२० को फेब्रुअरीदेखि डिसेम्बर महिनासम्म रेकर्ड गरिएका थिए ।
यो संख्या हिमपर्वतको टुप्पो मात्र भएको र अझै व्यापक संख्यामा चिकित्सकमाथि हिंसा गरिएको आईसीआरसीमा जोखिममा स्वास्थ्यसेवा इकाइका प्रमुख मासिएज पोल्कोव्स्कीले बताए ।
आईसीआरसीको विश्लेषणमा स्वास्थ्यकर्मीहरूमाथिको हिंसाको घटना अन्तर्व्यक्तिगत हिंसा हुन् । त्यसमा रोगी वा तिनका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने गरेका छन् र तिनको परिणाम गम्भीर हुने गरेको छ ।
इटलीको नेपल्समा कोभिडको लक्षण देखिएका एक रोगीलाई कुर्न लगाइएपछि उनले एक चिकित्सक र एक नर्सलाई थुकेका थिए । त्यसले गर्दा पूरै वार्ड बन्द गर्नुपरेको थियो र कर्मचारीहरूलाई क्वारेन्टीनमा पठाउनुपरेको थियो ।
शारीरिक हिंसाका पनि थुप्रै घटना भएका छन् । भारत र पाकिस्तानमा कोभिड वार्डहरू ध्वस्त बनाइएको घटना भएका छन् । मेक्सिकोमा सडकमा हिँडिरहेका स्वास्थ्कर्मीमाथि ब्लीच फ्याँकिएको छ । स्पेनमा एक स्वास्थ्यकर्मीको कारमा ‘संक्रामक मुसा’ भनी लेखिएको छ । अमेरिकामा कोभिड उपचार केन्द्रहरू बस्तीबाट टाढा राख्न भनिएको छ ।
यसका लागि सरकारहरू दोषी रहेको पोल्कोस्की बताउँछन् । उनीहरूले यस विषयमा स्पष्ट सूचना नदिएकाले गलत सूचनाहरू फैलिएका हुन् । ‘सरकारहरूले यस विषयमा स्पष्ट सूचना नदिएकाले जनतामा डरको स्थिति छ ।
सरकारहरूले कोभिडको गम्भीरतालाई खेलाँची गरे, मानिसको स्वास्थ्यभन्दा अर्थतन्त्रलाई प्राथमिकता दिए । स्वास्थ्यकर्मीमाथिको आक्रमण त्यसैको परिणाम हो,’ पोल्कोस्कीले भने ।
आफन्तको मृत्यु हुँदाको पीडासँगै आफू पनि मर्छु कि भन्ने डरका कारण रोगीका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने गरेका छन् । कोरोनाका कारण विभिन्न सतर्कता अपनाउनुपर्दा आफन्तको राम्ररी दाहसंस्कार गर्न नपाएको पीडाले गर्दा पनि रोगीका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने गरेका छन् ।