
ठेक्का सम्झौता अवधि सकिए पनि जाजरकोटको जिल्ला अस्पतालमा अझै अक्सिजन प्लान्ट जडान भएको छैन ।
अक्सिजन प्लान्ट जडान नहुँदा जटिल अवस्थाका कोरोना संक्रमितलाई जिल्लाबाहिर सिफारिस गर्नुपर्ने बाध्यता छ ।
जेठ १५ गतेभित्र अक्सिजन प्लान्ट जडान गर्ने गरी काठमाडौंको नेपटेक मेडिकल सप्लायर्सले ठेक्का सम्झौता गरेको थियो ।
कम्पनीले २ महिनाअघि अक्सिजन प्लान्ट जडान गर्न ४० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक वर्षको शुरूमै बजेट आए पनि बोलपत्र प्रक्रियामा जान ढिलाइ भएको छ ।
ठेक्का सम्झौता अनुरूपको निर्धारित समय बितिसक्दा पनि नेपटेकले अस्पतालमा अक्सिजन प्लान्ट जडानको कुनै प्रक्रिया अघि नबढाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । अक्सिजन प्लान्ट जडान नहुँदा अक्सिजनका सिलिण्डर भर्न नेपालगञ्ज पठाउनुपर्ने बाध्यता भएको स्वास्थ्य सेवा व्यवस्थापक टीकाराम जैशीले बताए ।
नेपटेकले कोरोना महामारी र लकडाउनका कारण प्लान्ट जडान गर्न नसकिएको भन्दै १५ दिनको थप समय माग गरेको छ तर कार्यालयले ५ दिनको समय मात्र थप गरेको स्वास्थ्य सेवा व्यवस्थापक जैशीले बताए ।
उनका अनुसार निर्धारित समयभित्र काम सम्पन्न हुन नसके बढीमा ५ दिनसम्म समय थप गर्न सकिने व्यवस्था छ । थप गरिएको समय पनि गुज्रिएपछि ठेकेदारले थप समय माग गरेको उनले बताए ।
नेपटेकका प्रोप्राइटर नरबहादुर लिम्बूले जेठ मसान्तभित्र अक्सिजन प्लान्ट जडान गरिने बताए । थपिएको समय पनि सकिएकाले ठेकेदारलाई कस्तो कारवाही गर्ने भन्नेबारे प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवालासँग परामर्श भइरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
समयमा अक्सिजन प्लान्ट जडान नगर्दा कोरोना संक्रमितलाई अक्सिजन दिन समस्या भएको जिल्ला अस्पतालका मेडिकल अधिकृत ओसरसिंह राठोरले बताए ।