
प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी सरकारका गृहमन्त्री खगराज अधिकारीलाई बनाउने भएका छन् ।
गृह मन्त्रालयको नेतृत्वका लागि एमालेमा भइरहेको तीब्र होडबाजीबीच अधिकारीले गृह मन्त्रालयको जिम्मा पाउन लागेका हुन् ।
अधिकारी विघटित प्रतिनिधि सभामा कास्की–१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । माओवादीसँग पार्टी एकता गर्नुअघि अधिकारी केही समय एमाले संसदीय दलको प्रमुख सचेत बनेका थिए ।
अधिकारी यसअघि सन् २०१४ मा स्वास्थ्य मन्त्री बनेका थिए । नेकपा एमाले केन्द्रीय सदस्य रहेका अधिकारी लामो समयदेखि प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिन्छन् ।
कात्तिक २६ र मंसिर ३ गतेका लागि चुनावको घोषणा गरेको सरकारले गृह प्रशासनको जिम्मा अधिकारीलाई दिन लागेको हो । देशको शान्ति सुरक्षाको जिम्मा पाएको गृह प्रशासन प्रधानमन्त्रीले अतिविश्वास गरेका पात्रले पाउँछन् ।
यसअघि ३ वर्षदेखि गृहमन्त्री रहेका रामबहादुर थापाको सांसद पद गुमेपछि उनी पदमुक्त भएका थिए । गैरसांसद पटक–पटक मन्त्री बन्न नमिल्ने भन्दै सर्वोच्चले पूर्व माओवादी खेमाका मन्त्रीहरूलाई पदमुक्त गरिदिएको थियो ।
बिहीवार विस्तार हुन लागेको मन्त्रिपरिषद्मा रामबहादुर थापाकी पत्नी नैनकला थापालाई सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ ।