झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत १ छात्राको रहस्यमयी मृत्यु भएको छ ।
दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आएकी इलामकी सेजला कोइरालाको बुधवार साँझ रहस्यमय मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्कीका अनुसार सेजलाको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाउने तयारी भइरहेको छ ।
प्रहरीले मृत्युको कारणबारे अनुसन्धान शुरू भइसकेको जनाएको छ ।
प्रहरी नायब उपरीक्षक कार्कीले सेजलालाई साँझ करीब ५ः०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए । त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उनलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पुर्याइए पनि बचाउन नसकिएको साथीहरूको भनाइ उदृत गर्दै कार्कीले जानकारी दिए ।
घटनालगत्तै पीडितका अभिभावक राति ११ः०० बजे दमक आइपुगेका बताइएको छ । आफन्तले भने सेजलाको मृत्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानबिन गर्न प्रहरीमा जाहेरी दिएका छन् ।
प्रहरीले तत्काल मृत्युको कारण थाहा पाउन परीक्षणलाई प्राथमिकता दिएको बताइएको छ ।