३१ जेठ २०८३, आइतबार

लुम्बिनीमा रासायनिक मलको पर्याप्त उपलब्धता, बिक्रेता भन्छन्– ‘यसपालि अभाव हुँदैन’

जेठ २७, २०७८
लुम्बिनीमा रासायनिक मलको पर्याप्त उपलब्धता, बिक्रेता भन्छन्– ‘यसपालि अभाव हुँदैन’

कृषि बालीका लागि आवश्यक रसायनिक मलको अभाव यस वर्ष नहुने देखिएको छ । अहिले खेतीबालीको मुख्य समय शुरू भइसकेको छ । 

यस वर्ष कृषि सामग्री केन्द्र, साल्ट टेड्रिङ कर्पोरेसन लिमिटेड र सहकारीहरूमा पर्याप्त मल भण्डार रहेको बताइएको छ । गत वर्ष देशभर मलको चरम अभाव भएको थियो । 

कृषि सामग्री केन्द्र भैरहवा रूपन्देहीका प्रमुख पुन्यप्रसाद घिमिरेले यस वर्षका लागि मल भण्डार रहेको बताए । संस्थानमा रहेको मल जिल्ला–जिल्लाका सहकारीले लैजाने क्रममा रहेको बताए । 

‘हामीसँग अहिले २० हजार मेट्रिक टन मल मौज्जाद छ,’ घिमिरेले भने, ‘जिल्ला जिल्लामा वितरण केन्द्र र कृषि सहकारीले पनि दैनिक रूपमा ८००/९०० टन मल लगिरेहका छन् । अझै १७ हजार मेट्रिक टन मल आउने प्रक्रियमा छ । केही दिनभित्र आउँछ ।’

‘मलको माग ‘अनलिमिटेड’ हुन्छ । एउटा व्यक्तिलाई यो वर्ष ४० केजी लग्यो भने अर्को वर्ष ६०, अर्को वर्ष ९० केजी खरिद गर्न गर्छ । भने, अर्को वर्ष नगदे बाली लगाएर मल नै नलैजान पनि सक्छ । त्यसैले यति नै माग हो भन्न सकिँदैन । तर, समग्रमा अहिले मल त्यति अभाव देखिएला जस्तो छैन,’ घिमिरेले थपे ।

गत वर्ष भदौमा सरकारले बंगलादेशबाट खरिद गरेको ५० हजार टन मध्ये १७ हजार टन आउनै बाँकी रहेको छ । नेपाल सरकार र बंगलादेश सरकार (सरकार–सरकारबीच जीटूजी) सम्झौताअनुसार मल खरिद भएको थियो । 

नेपालमा ७० प्रतिशत मल कृषि सामग्री संस्थान र बाँकी ३० प्रतिशत साल्ट ट्रेडिङ  कर्पोरेसनले खरिद गर्दै आएको छ । केन्द्रबाट, रुपन्देही, गुल्मी, अर्घाखाँची र प्यूठानका सहकारीहरू आएर लैजान्छ ।

प्रदेशका अन्य जिल्लामा शाखामार्फत नै मल वितरण हुने गर्छ । धान रोपाइँका बेला डीएपी मल चाहिन्छ । रोपाइँपछि धानलाई युरिया मल दिनुपर्छ । तर, नेपाली किसानले हरेक वर्ष मल अभाव झेल्दै आइरहेका छन् । समयमै मलको टेन्डर नहुने र टेन्डरपछिको सम्झौताअनुसार ठेकेदारले मल नल्याइदिँदा हरेक वर्ष किसानले अभाव खेप्नुपरेको कपिलवस्तुका किसान रामहरि जैसवाल बताउँछन् ।

‘मुख्य सिजनकै लागि हामीले मल पाइँदैन अनि कसरी देशको उत्पादन र बढ्छ ? मलकै अभावले पनि नेपाल खाद्य उत्पादनमा परनिर्भरता बढ्दै गएको छ,’ किसान जैसवाल भन्छन्, ‘रासायनिक मल कति महत्त्वपूर्ण हुन्छ भने यसलाई बेवास्ता गर्न सकिँदैन । आधुनिक व्यावसायिक कृषिलाई विचार गर्दा रासायनिक मलको राज्यले गतिलो विकल्प पनि दिन सकेको देखिँदैन ।’ 

नेपालमा करीब १ करोड ५० लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । कृषि सामग्री कम्पनी लिमिटेड परासी शाखाका प्रमुख खडानन्द बञ्जाडेले तत्कालका लागि किसानहरूलाई आवश्यक पर्ने मल रहेको र निषेधाज्ञाले आलोपालो गरेर किसानलाई बितरण गरिएको बताए ।

बञ्जाडेले भने, ‘किसानलाई समस्या हुँदैन । निर्देशिकाअनुसार नै हामीले  वितरण गरिरहेका छौं । किसानलाई अभाव हुन दिँदैनौं । मल पर्याप्त छ ।’

परासीमा कम्पनीसँग अहिले १ हजार मेट्रिक टन डिएपी र ८ सय टन युरिया मल छ । कम्पनीले जिल्लाका ५५ वटा सहकारीमार्फत मल वितरण गर्दै आएको छ । सहकारीहरूले रकम जम्मा गर्न पनि समस्या छ । 

अर्कातर्फ मल वितरण गर्दा किसानहरूको भीड बढ्ने र कोरोना संक्रमण फैलिन सक्ने भएकाले पनि समस्या आएको छ । प्रशासनले पनि अनुमति दिएको छैन,’ बञ्जाडेले भने । निषेधाज्ञा अवधिभर मल वितरण गर्ने अवस्था नरहेको र त्यसपछि प्रशासनको अनुमतिमा मल वितरणको व्यवस्था गर्न सकिने बञ्जाडेको भनाइ छ । 

सरकारले अहिले मल खरिदका लागि १२ अर्ब रूपैयाँ विनियोजन गरेको छ । गत वर्ष ११ अर्ब छुट्टाइएको थियो । तर, १२ अर्ब रुपैयाँ पनि पर्याप्त नभएको घिमिरे बताउँछन् । गत वर्ष मलको चरम अभाव हुँदा नेपालमा पनि मल उद्योग खुल्ने चर्चा चले पनि अहिलेसम्म त्यसतर्फ काम अगाडि बढेको देखिँदैन । 

salt training

कमेन्ट गर्नुहोस्