
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा ७ वटा मन्त्रालयसहित सहभागी भएको एमालेभित्रको पूर्व माओवादी समूहले २ वटा मन्त्रालय पाएको छ ।
एमालेमा प्रवेश गरेका अधिकांश प्रभावशाली नेताहरूलाई मन्त्री बन्न सर्वोच्चले रोक लगाएपछि दुईजना महिलाले सरकारमा नेतृत्व गर्ने भएका छन् ।
बिहीवार विस्तार हुन लागेको मन्त्रिपरिषद्मा निवर्तमान गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा मन्त्री बन्न लागेकी हुन् ।
उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय दिन लागिएको बालुवाटार स्रोतले बतायो । पूर्वमाओवादी खेमाबाट ज्वालाकुमारी शाह कृषि मन्त्री बन्ने भएकी छिन् ।
एमालेमा लागेपछि उनको प्रदेश सभा सदस्य पद खुस्किएको थियो ।
आफू मन्त्री बन्न नपाएपछि पत्नीलाई मन्त्री बनाएको भन्दै रामबहादुर थापाको आलोचना भएको छ ।
२०७७ पुसमा प्रतिनिधि सभा विघटन भएलगत्तै नेकपा विभाजन हुँदा थापाले केपी ओलीलाई साथ दिएका थिए ।
रामबहादुर थापाकी पत्नी नैनकला थापा यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्ष बनेकी थिइन् ।
नवनियुक्त मन्त्रीहरूको शपथ अपराह्न ४ बजेका लागि तय भएको छ ।