काठमाडौंमा १८ हजारले लगाए कोरोना विरुद्धको खोप

प्रतिकात्मक तस्वीर

काठमाडौं महानगरपालिकामा २ दिनमा १८ हजार बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् ।

महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र बनाएर महानगरले जेठ २५ गतेदेखि खोप लगाउने काम शुरू गरेको हो ।


Advertisement

महानगरपालिकाले दोस्रोपटक ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई शुरू गरेको खोप अभियान कार्यक्रममा २ दिनमा १८ हजार ११३ सहभागी भएको महानगरको स्वास्थ्य महाशाखाले जानकारी गराएको छ ।

खोप अभियानको पहिलो दिन ८ हजार ७४७ सहभागी भएका थिए भने दोस्रो दिन ९ हजार ३६६ सहभागी भएका जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

पहिलो दिन ४ हजार ४१९ पुरुष र ४ हजार ३२८ महिला सहभागी थिए । दोस्रो दिन ४ हजार ८९३ पुरुष र ४ हजार ९८४ महिला सहभागी भएको पनि विभागले जानकारी दिएको छ ।

प्रमुख कुँवरले ५ दिनमा १ लाख बढीलाई खोप कार्यक्रममा सहभागी बनाउने लक्ष्य लिएको उल्लेख गर्दै सो समूहका सबै महानगर क्षेत्रभित्र बसोबास गर्ने नागरिकलाई पायक पर्ने ठाउँमा पुगेर खोप अभियानमा सहभागी हुन आग्रह गरे ।

नगर प्रमुख विद्यासुन्दर शाक्यले निर्धारण गरेको उमेर समूहमा पर्ने व्यक्तिले उत्साहजनकरूपमा आफूलाई पायक पर्ने स्थानमा पुगी खोप लगाउन आग्रह गरेका छन् ।

महानगरपालिकाले खोप लगाउने कार्यसञ्चालन गर्दा भीड नियन्त्रण गर्न भन्दै हरेक दिन फरक–फरक उमेर समूहका व्यक्तिलाई खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको थियो ।

कमेन्ट गर्नुहोस्