गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभामा विश्वासको मत पाउन असफल भएका छन् । यससँगै एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको छ ।
बिहीबार मुख्यमन्त्री गुरुङले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकामा त्यसलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा उनले आवश्यक बहुमत नपाएका हुन् ।
गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका उनले संवैधानिक प्रावधानअनुसार एक महिनामा विश्वासको मत लिन प्रयास गरेका हुन् ।
उनले विश्वासको मत प्राप्त नगरेपछि कतिपयले गण्डकी प्रदेशसभा विघटन हुने आँकलन गरेका छन् । सो कुराको संकेत मुख्यमन्त्री गुरुङले पनि प्रदेशसभामै गरिसकेका छन् ।
प्रदेशसभाको बिहीबारको बैठकमा गुरुङले विश्वासको मत नपाए संविधानअनुसार अघि बढ्ने बताएका थिए ।
प्रदेशसभामा मत विभाजन हुँदा गुरुङको पक्षमा २७ मत प्राप्त भयो भने विपक्षमा ३० मत प्राप्त भयो । प्रदेशसभामा ५७ सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । उपस्थित ५८ मध्ये एक जनाले भने कसैलाई मत दिएनन् । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ प्रदेशसभाको मत चाहिन्थ्यो ।