
आफ्नै जग्गामाथिबाट गएको ३३ केभीको करेन्ट प्रवाह हुने प्रसारण लाइन विस्तारले बुटवल उपमहानगरपालिका–८ सुख्खानगरकी भगवती पछाईले पाँच वर्षअगाडि घर बनाउँदा दुर्घटना हुन पुग्यो। घर बनाउने क्रममा ‘हाइटेन्सन’ लाइनको नाङ्गो तार छुन पुग्दा करेन्ट लागेर मिस्त्रीको मृत्यु भयो।
मजदुरको मृत्युपछि भगवतीले पीडित परिवारलाई ठूलो रकम समेत दिनुपर्यो। सँगै आफू बस्न बनाउन थालिएको एकतले घर पनि त्यसै अलपत्र छाडिन्। पूर्व-पश्चिम महेन्द्र राजमार्गनजिकै रहेको तीन कठ्ठा भगवतीको जग्गा साच्चै प्रयोगविहीन र मूल्यविहीनजस्तै थियो।
तर, मंगलबार बुटवल राजमार्ग चौराहाको विद्युत सब-स्टेसनदेखि रामनगरसम्मको उच्च क्षमताको हाइटेन्सन लाइन (तार) नेपाल विद्युत प्राधिकरणले हटाएपछि भगवतीको खुसीको कुनै सीमा छैन। ‘वर्षौंदेखि उठाउँदै आएको आवाज अहिले आएर सम्भव भयो, घर बनाउन त परको कुरा खाली जग्गा भाडामा लगाउन समेत पाएको थिइनँ,’ भगवती भन्छिन्, ‘अब घर बनाउन पाइयो, भ्यालु नभएको जग्गा अब बहुमूल्य हुने भयो। यसका लागि पहल गर्ने सबैलाई धन्यवाद।’
बुटवलका घना बस्तीबीचमा रहेको ‘हाइटेन्सन’ लाइन हटाउन सुरु गरिएको छ। यससँगै वर्षौँदेखि त्रासबीच बस्न बाध्य ठूलो संख्यामा रहेका स्थानीयले सन्तुष्टिको सास फेर्न थालेका छन्। बस्तीमाथिका घरबाट गएको उच्च भोल्टेजको विद्युत प्रवाह हुने लाइन हटेपछि १०५ घरधुरी खुसी भएका हुन्।
बस्तीबीचबाट गएको लाइन हटाएर अन्य ठाउँमा स्थानान्तरण गरी प्रसारण गरेपछि चौराहाको विद्युत सब-स्टेसनदेखि रामनगरको जनता माविसम्म १.८ किलोमिटर र बुटवल गोलपार्क क्षेत्रका निजी जग्गा सुरक्षित बनाउँदै हाइटेन्सन लाइन काटिएको नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख रितेश गुप्ताले बताए। दुवै क्षेत्रका लाइनमा नयाँ रुट व्यवस्थापन गरी बस्तीको लाइन हटाइएको गुप्ताको भनाइ छ।
यो बुटवलदेखि पश्चिम नवलपरासीको सुनवलसम्म विस्तार भएको ३३ केभीको प्रसारण लाइन हो। आजभन्दा ५४ वर्षअगाडि अर्थात् वि.सं. २०२९ मा विस्तार भएको हाइटेन्सन लाइन थियो। दुई वर्षअगाडि विद्युत प्रवाह हटाइएको भए पनि अहिले आएर तार पनि हटाएपछि बस्ती सुरक्षित भएको बुटवल उपमहानगरपालिका वडा नम्बर-८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनीले बताए।

‘यो जग्गामा घर पनि नबन्ने, मूल्याङ्कन पनि नहुने, विद्युतको मिटर लगाउन पनि नपाइने अवस्था थियो,’ वडाध्यक्ष पंगेनीले भने, ‘१५ वर्षदेखि लागेर गरिएको पहल अहिले आएर लाइन हटाउन सम्भव भएको हो। यसका लागि केन्द्रदेखि स्थानीय तहसम्म सबैको पहलबाट सम्भव भएको हो।’
घरको नजिकैबाट लगिएको हाइटेन्सन लाइनका कारण विद्युतीय दुर्घटनाको ठूलो जोखिम अन्त्य भएको वडाध्यक्ष पंगेनीको भनाइ छ।
नाङ्गो तार हटाएपछि धरापजस्ता भएका क्षेत्र सुरक्षित बनेका छन्। यहाँका बजार क्षेत्रभित्र परेको हाइटेन्सन लाइन व्यवस्थापन गर्न दबाब दिन संघर्ष समिति पनि बनेको थियो।
बजारको बाक्लो बस्तीको बीचैबाट विद्युत् प्रसारण लाइन विस्तार हुँदा स्थानीय जोखिममा थिए। घर छुने गरी टाँगिएका तारका कारण छतमा जानै जोखिम थियो। तीव्र रूपमा बजारीकरण भइरहेको बस्तीका लागि विद्युत् प्रसारण लाइन धराप बन्दै गएको थियो। स्थानीय राजन पौडेल धेरै पटक हाइटेन्सन लाइन हटाउन विद्युत प्राधिकरणदेखि केन्द्रसम्म गरिएको पहलको अहिले आएर सुनुवाइ हुँदा ठूलो जोखिम टरेको बताउँछन्।
‘घरमाथिबाट लाइन जाँदा ठूलो हावाहुरी चल्दा विद्युतका तार घरका छतमा छोइने र खस्ने गरेका थिए,’ उनी भन्छन्, ‘हाम्रो जग्गामाथि र बाक्लो बस्तीमाथिबाट हटाउन ठूलो संघर्ष समिति बनाएर आवाज उठाइयो। अहिले आएर सुरक्षित महसुस भएको छ।’
यस्तै साउन १ गतेदेखि बुटवल-३ को इलाका प्रहरी कार्यालय बुटवलदेखि चिडियाखोलासम्म फैलिएको यो पुरानो हाइटेन्सन लाइन पनि हटाइएको छ। जसबाट २५० भन्दा बढी घरधुरी प्रत्यक्ष रूपमा प्रभावित भएका थिए। यो हाइटेन्सन लाइन वि.सं. २०३० सालतिर तिनाउ खोलामा सञ्चालित बुटवल पावर हाउसबाट बुटवलका उद्योगहरूमा विद्युत आपूर्ति गर्न विस्तार गरिएको थियो।

५० वर्षअघि त्यो बेला बस्ती कम थियो। तर, समयसँगै घरहरू बने। जनसंख्या बढ्यो र उद्योगका लागि बनाइएको लाइन नै मानिसको घरमाथिबाट गुज्रिने जोखिमपूर्ण संरचनामा बदलिन पुग्यो। प्राधिकरणले अहिले सिद्धार्थ राजमार्ग हुँदै वैकल्पिक हाइटेन्सन लाइन निर्माण गरेपछि पुरानो लाइन हटाउने काम गरेको हो। यससँगै वर्षौँदेखि दुर्घटनाको सम्भावित जोखिम मोलेर बसेका सयौँ परिवारले राहत महसुस गर्न थालेको बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेयले बताए।
बुटवल-८ का स्थानीय यादव भण्डारीले स्थानीयको अथक प्रयासबाट नीतिगत रूपमा जटिल मानिएको काम पनि सम्भव भएको बताए। बाक्लो बस्ती र घरनजिकैबाट विद्युत लाइन विस्तार हुँदा उच्च जोखिमको सामना गर्नुपरेको बाध्यता सकिएको उनले बताए।
यस्तै, बुटवल-११ कालिकानगरमा हाइवेको बीच भएर लगिएको १३२ केभीको हाइटेन्सन लाइनको जोखिम घटाउन ‘मोनोपोल’ जडान गरिएको छ। बाक्लो बस्ती र फराकिलो सडकमाथि ठूलो विद्युत् प्रवाह हुने प्रसारण लाइनबीचको दूरी कम हुँदा सडकमा गुड्ने ठूला गाडीले तार छुन सक्ने ठूलो जोखिम थियो। ‘मोनोपोल’ जडान भएपछि त्यो जोखिम कम भएको छ। डबल सर्किट प्रसारण लाइनको टावर (चार खुट्टा भएको) हटाएर मोनोपोल (एउटा मात्र खुट्टा भएको) राखिएको छ।