जी७ मुलुकका शीर्ष नेताहरू बेलायतको कर्नवालमा शुक्रवारबाट शुरू हुने शिखर सम्मेलनका लागि भेला भएका छन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो न्युक्वेमा रहेको कनैवाल विमानस्थलमा फेस मास्क लगाएर आइपुगे र ढोकामा हात हल्लाए ।
युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल पनि बैठकमा भाग लिन आइपुगेका छन् । उनलाई बेलायती सैनिक, जलसैनिक र वायुसैनिकले स्वागत गरे ।
त्यसैगरी जापानका प्रधानमन्त्री योशिहिदे सुगा आफ्नी पत्नी मारिकोका साथ शुक्रवार बिहान आइपुगेका छन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अमेरिका, जापान, जर्मनी, फ्रान्स, इटली र क्यानडाका शीर्ष नेताहरूलाई कार्बिस बेमा हुन गइरहेको जी७ शिखर सम्मेलनमा स्वागत गर्नेछन् ।
बेलायतले अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका र दक्षिण कोरियालाई अतिथिको हैसियतमा निमन्त्रण गरेको छ र युरोपेली संघलाई पनि बोलाएको छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडन पहिले नै बेलायत आइपुगेर विश्वका लोकतन्त्रहरू सँगै उभिनुपर्नेमा जोड दिएका छन् । युरोपसँगको पराआन्ध्रीय साझेदारी बलियो बनाउनमा बाइडनले जोड दिएका छन् ।