
नेपालमा गत वर्षभन्दा ३ दिनअघि नै यस वर्षको मनसुन भित्रिएको छ ।
नेपालमा मनसुन शुरू हुने औसत मिति जुन १३ तारिख मानिन्छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले शुक्रवारबाट नेपालमा मनसुन भित्रिएको जानकारी दिँदै मनसुन भित्रिएका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने योग रहेको बताए ।
पूर्वी भेगबाट मनसुन भित्रिएकामा शुक्रवार काठमाडौं लगायत क्षेत्रमा पनि वर्षा भएको छ । देशका सबै भागमा मनसुन फैलन भने अझै २ देखि ४ दिन लाग्ने प्रक्षेपण मौसमविद्को छ ।
यस वर्ष देशका अधिकांश भागमा विगत वर्षभन्दा धेरै वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् । नेपालमा सामान्यतया ४ महिना मनसुन रहन्छ ।
बढी वर्षाले बाढी र पहिरो निम्तिने तथा जनधनको क्षति हुने खतरा भएकाले त्यसको न्यूनीकरणका लागि अहिलेदेखि नै ध्यान दिन मौसमविद्ले सुझाएका छन् ।