०४ असार २०८३, बिहीबार

संक्रमित शवको धार्मिक संस्कारअनुसार अन्त्येष्टि गरिदिँदै माओवादी कमरेडहरू

जेठ २९, २०७८
संक्रमित शवको धार्मिक संस्कारअनुसार अन्त्येष्टि गरिदिँदै माओवादी कमरेडहरू

कोरोना संक्रमणको दरमा पछिल्लो केही हप्तायता कमी आएको छ । यद्यपि संक्रमणबाट मृत्यु हुनेको संख्या एकनास छ अर्थात घट्न सकेको छैन ।

महामारीको केन्द्र बनेको रूपन्देहीमा संक्रमणबाट ५०० भन्दा बढीको ज्यान गइसकेको छ । जिल्लाको बुटवलस्थित कोभिड अस्पताल, भैरहवाको भीम अस्पताल र होम आइसोलेसनमा संक्रमणबाट अहिले पनि दैनिक ३–४ जनाको मृत्यु भइरहेको छ । 

कुनै बेला संक्रमितको शव छुन त परै जाओस् नजिक पर्न समेत मानिसहरू डराउँथे । महामारीसँगै भएको परिवर्तित समयसँगै नेपाली सेना (आर्मी) ले व्यवस्थापन गर्दै आएको संक्रमितको शव अहिले युवा आफैंले उठाएर धार्मिक संस्कार अनुसार अन्त्येष्टि गर्न थालेका छन् ।

रूपन्देहीको सिद्धार्थनगरमा माओवादी केन्द्रको युवा कमिटी संक्रमितको शव व्यवस्थापनमा टीम बनाएर खटिएको छ । अहिले आइसोलेनसन, घर र अस्पतालमा मृत्यु भएका भैरहवा क्षेत्रमा संक्रमितका शवहरू यहीँ टीमले अन्त्येष्टि गर्न थालेको छ ।

‘प्रार्थना गर्ने ओठभन्दा सेवा गर्ने हात पवित्र हुन्छन्’ भन्ने भनाइलाई भैरहवाका युवा कमरेडहरूले चरितार्थ गरेका छन् । 

ठूलो समस्याको रूपमा रहेको संक्रमितको शव अन्त्येष्टिमा युवा टीम खटिएको देख्दा कोही तर्सिन्छन् भने कोहीले प्रशंसा गर्छन् । नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य डार्विन रोका मगरको नेतृत्वमा अहिले संक्रमितको शव व्यवस्थापन भइरहेको छ ।

गत वैशाख अन्तिम हप्ता भैरहवाको भीम अस्पतालमा १ जना संक्रमितको शव व्यवस्थापनको लागि अस्पतालभित्रै ७० हजार रुपैयाँको मोलमोलाइ भएको डार्विनले प्रत्यक्ष आफ्नै आँखाले देखे । पीडित परिवारलाई पीडामाथि पीडा थप्दा उनलाई चिन्ता लाग्न थाल्यो । मानिस आफन्तको मृत्युको पीडामा छ, अस्पतालले शव व्यवस्थानका लागि ७० हजार रुपैयाँबाट बार्गेनिङ गरेर ५० हजार रुपैयाँसम्म लिएको देखेपछि डार्विनको मनमा गरीबलाई शव व्यवस्थापनमा शुल्क नलिने र सामाजिक काम गरेर सक्रिय रहने सोच आयो । 

सिद्धार्थनगर नगरपालिका–३ का डार्विनको नेतृत्वको टोलीले हालसम्म ३० वटा शव व्यवस्थापन गरिसक्यो । ‘गरीब, विपन्न नागरिकलाई शव व्यवस्थापनका लागि कुनै शुल्क, खर्च गर्न नपरोस् भन्ने सोचमा साथ हामी यो जोखिमपूर्ण काममा खटिएका छौं,’ डार्विनले भने, ‘स्वास्थ्य मापदण्ड पूरा गरेर हामी शव व्यवस्थापनमा खटिन्छौं । पीपीई पनि हामी आफ्नै पैसामा किन्छौं । घरमा मृत्यु भएका शंक्रमितको शव आफैं र्‍यापिङ गर्छाैं । एम्बुलेन्स आफैं खोज्छौं र नदी किनारामा लगेर धार्मिक संस्कार अनुसार दाहसंस्कार गर्छाैं ।’ 

सर्वहाराको नेतृत्व गर्ने पार्टीका कार्यकताले जनतालाई दुःख र पीडामा हुँदा आर्थिक मारमा पर्न दिनु हुँदैन भनेर संकटमा सारथि बनेको उनले बताए । संक्रमितको मृत्यु भए डार्विन सहितको टोली घर र अस्पतालमा पुगिहाल्छ । 

संक्रमितको शव व्यवस्थापनमा खटिएका अर्का युवा नारायण हमालले शव व्यवस्थापनमा निकै समस्या देखिएपछि भैरहवामा आफूहरूले शव व्यवस्थापनतर्फ अग्रसरता देखाएको बताए । उनको हिम्मत पनि मानवताको अर्को उदाहरण बनेको छ । ‘आर्मीले शव उठाउन हुने, अस्पतालका नर्सले शवलाई प्लास्टिकमा पोको पार्न हुने, हामी किन डराउने भन्ने सोच आयो । त्यही भएर हामी यो काममा खटेका हौं,’ हमालले भने ।

 
हमालले थपे, ‘हामीलाई देखेपछि कति जना डराउँछन्, तर्सिन्छन् । कतिपयले साहसको काम भन्दै सलाम गर्न पनि पछाडि पर्दैनन् ।’ युवाहरूलाई शव व्यवस्थापन गरेर सामाजिक काम गरेको महसूस भएको छ । मानवता र संस्कारलाई बचाउन सकेकोमा आत्मसन्तुष्टि मिलेको हमालले बताए । सिनपा–९ का हमाल माओवादी केन्द्रका जिल्ला सदस्य हुन् ।

भैरहवाको एक घरमा भाडामा बस्ने भारतीय नागरिकको संक्रमणबाट मृत्यु भएपछि उनको शव उठाउन २ दिन लाग्यो । भैरहवाका युवा धु्रव लाम्गादेलाई लथालिङ्ग अवस्थामा रहेको शव देखेर मन धेरै पिरोल्यो । ‘त्यसपछि हामीले टीम बनाएर नै शव व्यवस्थापनका लागि अगाडि आउनुपर्छ भनेर मात्रै हामी शव व्यवस्थापनमा जुटेका हौं,’ धु्रवले भने, ‘सेनाले गर्न सक्ने काम हामी पनि गर्न सक्छौं भन्ने सोचले पार्टीले यो काम गर्नुपर्छ भनेर अभियान थालेको हो । बिचल्लीमा परेकाहरूको शव हेरेर बस्न मनले मानेन ।’

दिलिप प्रजापतिले विषम परिस्थितिमा अस्पताल परिसरमा सेवा गर्ने कार्य प्रशंसनीय रहेको र यसले राम्रो सन्देश पाइएको बताए । बिरामी तथा बिरामी कुरुवालाई मध्यनजर गर्दै अस्पताल परिसरमै तातोपानी, बेसार र ज्वानो पानी, अण्डा, दालको रस, औषधियुक्त कालो चिया पनि वितरण गरिरहेका छन् । ‘भीम अस्पतालले बिरामीको लागि खानाको व्यवस्था त गरेको छ तर बिरामीले भात तरकारी खान सक्ने अवस्था छैन, किनकि यहाँ कोभिड बिरामी हुनुहुन्छ, उहाँहरूलाई खाना निल्न अप्ठ्यारो हुन्छ, त्यसले यो कार्यक्रम निरन्तर सञ्चालन गरिरहेका छौं,’ प्रजापतिले भने ।

दैनिक १७५–२०० जनासम्म बिरामी तथा बिरामी कुरुवालाई सेवा प्रदान गरिएको छ । उनले कोरोना महामारीको विषम परिस्थितिमा मानवीय कार्य गर्नुपर्छ भन्ने उद्देश्य बोकेर पार्टीले सेवा कार्य सञ्चालन गरिरहेको माओवादी केन्द्रले जनाएको छ । मानवीय सेवामा खटिएका युवाको काम देखेर सबै क्षेत्रबाट प्रशंसा भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्