२२ जेठ २०८३, शुक्रबार
शुरु भयो बाढीको कहर

असार लागेकै दिन देशका विभिन्न भागमा बाढीको वितण्डा

असार लागेकै दिन देशका विभिन्न भागमा बाढीको वितण्डा

असार महिना लागेकै दिन देशका विभिन्न भाग बाढीको चपेटामा परेको छ । केही दिन देखिको अविरल वर्षाका कारण कालीगण्डकी, मर्स्याङ्दी, नारायणी र तिनाउ लगायतका नदीमा बाढी आएको छ ।

म्याग्दी, पर्वत, बाग्लुङ लगायतका जिल्लामा परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वत, गुल्मी र स्याङ्जाको संगमस्थल सेतीवेणी डुबानमा परेको छ । गुल्मी, स्याङ्जा र पाल्पाको संगमस्थल रुरू क्षेत्रमा पनि बाढीको सतहमाथि पुगेको छ ।

मर्स्याङ्दी नदीमा आएको बाढीका कारण मनाङको ताल गाउँमा केही घरमा क्षती गरेको छ । लघु जलविद्युत केन्द्रमा क्षती पुर्याएको छ । मर्स्याङ्दी नदीमा आएको बाढी लमजुङको भोटे ओडारमा पुलमाथि पुगेको छ ।
रुपन्देहीको तिनाउ नदीमा ३६ वर्ष यताकै ठूलो बाढी आएको छ । तिनाउमा आएको बाढीले बुटवल बजार नजिकको तिनाउ पुल छोएको छ ।

यता नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जल सतह खतराको तह पार गरेको छ । नारायणीमा बाढी अझै बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा डुबानको खतरा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले त्रिवेणी तथा सुस्ता क्षेत्रका डुबान हुनसक्ने होचा स्थानमा भोलि बुधवार मध्यान्हसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन सचेत गराएको छ ।

कहाँ कति वर्षा ?
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जेठ ३१ गते मंगलबार बिहानसम्म वर्षा मापन केन्द्रहरु (मानब संचालित, ७२ र स्वचालित,१३४) मा मापन गरिएको वर्षाको विवरण अनुसार १९३ वटा केन्द्रमा वर्षा भएको छ  ।

उक्त केन्द्रहरु मध्ये सबैभन्दा बढी वर्षा स्याङजा जिल्लाको चापकोट केन्द्रमा भएको छ। मापन गरिएका केन्द्रहरु मध्ये १४३ वटा केन्द्रमा १० मि. मी. भन्दा बढी, ११९ वटा केन्द्रमा २५ मि. मी. भन्दा बढी, ७९ वटा केन्द्रमा ५० मि. मी. भन्दा बढी, २६ वटा केन्द्रमा १०० मि. मी. भन्दा बढी, ४ वटा केन्द्रमा १५० मि. मी. भन्दा बढी र १ वटा केन्द्रमा २०० मि. मी. भन्दा बढी वर्षा भएको छ।

यस्तै वर्षापछिको बाढी पहिरोको असर कालिकोट, मकवानपुर, मनाङ, प्युठान, कञ्चनपुर, अछाम, रोल्पा, रसुवा, पाल्पा र मुस्ताङसम्म देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्