स्थानीय तहका लागि रासायनिक मलको कोटा निर्धारण

प्रतिकात्मक तस्वीर

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डीएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ ।

कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने ३०० मेट्रिक टन मलको प्रतिशत निर्धारण गरी ९ वटै स्थानीय तहलाई उपलब्ध गराउने व्यवस्था गरेको हो ।


Advertisement

कोटामा निर्धारण भएको अनुपातअनुसार सहकारी संस्थालाई सिफारिस बमोजिम मल उपलब्ध गराइने शाखा कार्यालयका निमित्त कार्यालय प्रबन्धक बलबहादुर शाहले बताए । कार्यालयले जारी गरेको सूचनाअनुसार भीमदत्त नगरपालिकालाई निर्धारित कोटाअनुसार ५९४ बोरा (२९ दशमलव ७ मेट्रिक टन), बेदकोट नगरपालिकालाई ५४० बोरा (२७ मेट्रिक टन) र शुक्लाफाँटा नगरपालिकालाई ५४० (२७ मेट्रिक टन) मल उपलब्ध गराइने छ ।

कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकालाई ७०२ बोराका दरले (३५ दशमलव १०० मेट्रिक टनका दरले) तथा दोधाराचाँदनी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकालाई ५४० बोराका दरले (२७ मेट्रिक टन) उपलब्ध गराइने छ ।

स्थानीय तहले वडाअनुसार मलखाद बिक्री वितरण गर्ने सहकारीको छनोट गरी मल बिक्री वितरणको व्यवस्था मिलाएका छन् । जग्गाको क्षेत्रफल, किसानको संख्यालाई आधार बनाई वडावडामा सोहीअनुसार मलको कोटा निर्धारण गरिएको छ ।

मलको मागअनुसार आपूर्ति थोरै भएको किसानको गुनासो छ । मलको अभाव हुन थालेपछि किसानले भारतबाट अवैध रूपमा भित्र्याइएको रासायनिक मल प्रयोग गर्न बाध्य छन् । वर्षा हुने क्रमसँगै कञ्चनपुरमा धान रोपाइँको काम शुरू भएको छ ।

महाकाली सिँचाइको नहरको पहुँच पुगेका क्षेत्रमा भने वैशाखको अन्तिम हप्तादेखि रोपाइँ शुरू भएको थियो । धानको खेती हुने कूल जग्गाको १५ प्रतिशत जग्गामा हालसम्म रोपाइँको काम गरिएको छ ।

कमेन्ट गर्नुहोस्