मेलम्ची बजारमा बाढीको ताण्डब, कयौ घरका सटर र पहिलो तला पुरिए [तस्वीरहरू]

सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले तटीय क्षेत्रमा क्षति पुर्‍याएको छ । बाढीको ताण्डब मंगलवार रातभर जारी रह्यो ।

हेलम्बुदेखि उर्लिएर आएको बाढीले सदरमुकाम चौतारा जोड्ने पक्की पुल बगाएको छ । 


Advertisement

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीले हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको हेडबक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका माछा फर्म, खेतीयोग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटी पार्क लगायतमा क्षति पुर्‍याएको छ ।

बाढीमा केही व्यक्ति समेत बेपत्ता भएपनि यकिन विवरण आइसकेको छैन ।

सिन्धुपाल्चोकबाट विघटित प्रतिनिधि सभामा निर्वाचित एमाले सांसद एवं स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले कयौं व्यक्ति बेपत्ता भएको बताएका छन् । मेलम्ची बजारका कयौ घरको पहिलो तला र सटर नै पुरिएको छ । 

बाढीबाट खतरा महसूस गर्दै सुरक्षित स्थानमा सारिएका व्यक्तिहरूले खुला आकाशमै रात बिताएका छन् । नदी उर्लिएर आएपछि तटीय क्षेत्रमा वासिन्दा अग्लो भूभागमा सरेका छन् ।

किउल स्थानीय अर्जुन भण्डारीले खोलाको बहाव अझै उस्तै रहेकाले गाउँबासीमा त्रास रहेको बताए । मेलम्ची बजारका स्थानीय समेत घर छाडेर सार्वजनिक जग्गामा बसेका छन् । स्थानीयले मंगलवार राति नगरपालिका कार्यालयको प्राङ्गण, शेराफाँट, इन्द्रावती क्याम्पस परिसरमा आश्रय लिएका छन् ।

बाढीका कारण विद्युत् आपूर्ति बन्द हुँदा क्षतिको विवरण संकलन र उद्धारमा समस्या देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाका अनुसार हेलम्बुका प्रहरी कार्यालय भवनमा समेत बाढी पसेको छ ।

तस्वीर : शेरबहादुर तामाङ र विष्णु क्षेत्रीको फेसबुक 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्