३० जेठ २०८३, शनिबार

अविरल वर्षासँगै पहिरोले २९ घर विस्थापित

असार २, २०७८
अविरल वर्षासँगै पहिरोले २९ घर विस्थापित
प्रतिकात्मक तस्वीर

केही दिनयताको निरन्तरतको वर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरोबाट २९ घर परिवार विस्थापित भएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत र मंगलाको तल्लो डडुवामा पहिरोले क्षति पुर्‍याएको हो । 

पहिरोबाट अन्नपूर्ण–५ घोस्केखोरमा ७, स्वातमा ३ र पाउद्वारमा २ घरमा क्षति पुगेको वडा सचिव कुलप्रसाद आचार्यले जानकारी दिए ।

‘एउटा गोठ पहिरोले पुरिएको छ, पहिरोले क्षति पुर्‍याएका र जोखिममा परेका घरका मानिस, गाइबस्तु र सामानलाई सुरक्षित ठाउँमा सारिएको छ,’ उनले भने, ‘सँयौ रोपनी खेतीयोग्य जमीनमा क्षति पुगेको छ ।’ 

घोस्केघोरका रेशबहादुर पाइजा, कृष्ण फगामी, नौमति बुद्धुजा, नरे तिलिजा, दलमति पुर्जा, जितबहादुर पुर्जा, टीकाबहादुर पुर्जा र ज्ञानबहादुर पाइजाको घरमा क्षति पुगेर विस्थापित भएका छन् । घरभित्र पहिरो पसेको, आँगन भत्केको र गोठ पुरिएको स्थानीय शिक्षक खेम पुनले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोका कारण बेनी–२ बगरफाँटमा ९ र वडा नम्बर ८ सल्लेरीमा ४ घरपरिवार विस्थापित भएका छन् । बेनी–४ डाँडाखेतमा ३ परिवार विस्थापित भएका छन् । लोकेन्द्र खत्री, खेमराज पौडेल र सानु किसानका परिवार विस्थापित भएको वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले बताए ।

मंगला गाउँपालिका–२ तल्लो डडुवा (कुकुर बिसौना)मा पहिरोले कृष्णबहादुर दर्जीको ढुंगा, माटो र काठले बनेको २ तले घर भत्किएको छ । घर भत्किएपछि दर्जीका १६ जनाको परिवारलाई आफन्तकोमा सारिएको स्थानीय नेत्रराज सुवेदीले जानकारी दिए ।
  
सदरमुकाम बेनीको क्याम्पसचोकमा आएको बाढी पसेर कालीपुलमा रहेको देवेन्द्र पौडेलको ग्यारेज डुबाएको छ । वर्षासँगै जामुनाखर्कको पाखोबाट आएको बाढीले बेनीको अस्पताल चोक र कालीपुल बसपार्क हिलाम्मे बनाएको छ । 

निरन्तरको वर्षासँगैको पहिरोले म्याग्दीका सबै सडक अवरुद्ध बनेका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मलढुंगा, बेनी–बागलुङ्ग, बेनी–जोमसोम सडक अवरुद्ध भएका छन् । 

बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बरंजा, गलेश्वर–मौवाफाँट–चिमखोला–कुइनेमंगले, पोखरेबगर–घार–शिख–चित्रेलगायत सबै ग्रामीण बस्ती जोड्ने सडकमा यातायात ठप्प भएको छ । कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा आएको बाढीले खतराको तह नाघेको छ ।

तटीय र जोखिमयुक्त ठाउँका वासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । 

शिखको स्वाँतखोलामा रहेको मोटरेबल पुलसम्म पुग्ने बाटो पहिरोले बगाएको छ । घारखोलामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत निर्माणाधीन पुलको पनि निर्माण सामग्री बगाएको छ । पखेरस्थित म्याग्दी नदीमाथि निर्माणाधीन अर्को मोटरेबल पुल ढलानमा प्रयोग भएका सामानसमेत बगाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्