०३ असार २०८३, बुधबार

सिन्धुपाल्चोकमा २०७१ सालयता वर्षैपिच्छे बाढी–पहिरोको विपत्ति

सिन्धुपाल्चोकमा २०७१ सालयता वर्षैपिच्छे बाढी–पहिरोको विपत्ति

सिन्धुपाल्चोक जिल्लामा २०७१ सालयता वर्षैपिच्छे बाढी–पहिरोको विपत्तिले सताउने गरेको पाइएको छ ।

सिन्धुपाल्चोकमा हरेक वर्ष ठूला प्राकृतिक विपत्तिका घटना भइरहेपनि पूर्व तयारी र क्षति न्युनीकरणमा प्रभावकारी काम भएको देखिँदैन ।

२०७१ साउन १७ गतेको जुरे पहिरोमा परी १४५ जनाको मृत्यु भएको थियो । पहिरोले घर, विद्युत् गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्म समेत गरी १५३ घरमा पूर्णरूपमा क्षति पुगेको थियो ।

२०७२ वैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पका कारण ३ हजार ५७१ जनाको मृत्यु भएको, १ हजार ५६५ जना घाइते, ८ जना बेपत्ता, ७८ हजार ५३७ घरमा पूर्ण रूपमा क्षति पुगेको थियो ।

२०७३ असार २१ गतेको भोटेकोशी बाढीले लिपिङ बजारका ३० घर बगाएको, तातोपानी नयाँबस्तीका ३० घरमा क्षति पुगेको थियो ।

२०७४ साउन ८ गते रातिको पहिरोले लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्पर्कविच्छेद बनेको थियो ।
    
२०७५ भदौ २ गते राति साँधी खोलामा आएको पहिरोले पक्की पुल बगाएको, पहिरोले २२ घरमा लेदो पसेको र १२ घर जोखिममा परेका थिए ।

२०७७ असार २४ गते राति बाह्रबिसे नगरपालिका–५ को जम्बु बजार पहिरोले पुरिँदा २ जनाको मृत्यु, १७ जना बेपत्ता, २५ घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भएका थिए । बाह्रबिसेकै खागदलमा बाढी पहिरोले बस्ती पुरिँदा २२ घर क्षतिग्रस्त बनेका थिए ।

भोटेकोशी गाउँपालिकाको बुल्कुटे पहिरोले १ जनाको मृत्यु भएको थियो भने ३ जना बेपत्ता भएका थिए । लार्चामा पहिरोले १३ घर क्षतिग्रस्त भएपछि गाउँ नै विस्थापित भएको थियो । अरनिको राजमार्गका खागदल र बुल्कुटेको २ वटा पक्कीपुल क्षतिग्रस्त भएका र लार्चाका विस्थापितलाई तातोपानीस्थित ड्राइपोर्टमा राखिएको थियो ।

२०७७ असार ३१ गते राति भोटेकोशी गाउँपालिकाको फुल्पिङगाउँमा खसेको पहिरोले एकै परिवारका ५ जनाको मृत्यु, ३ घर पूर्णरूपमा क्षतिग्रस्त बनेका थिए ।

२०७७ साउन १८ राति मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी ९ जना मजदुरको मृत्यु भएको थियो । सोही रात बरुवामा घर पुरिएर २ जनाको मृत्यु भएको थियो ।

२०७७ साउन २२ गतेको अविरल वर्षाका कारण चौतारा साँगाचोकगढी नगरपालिका–२ सेराफाँटमा ४ घर पुरिएर क्षति भएको, बलेफी कात्तिके सडक अवरुद्ध, सयौं रोपनी धानखेत बगाएको थियो ।

२०७७ साउन ३० बिहान जुगल गाउँपालिका–२ गोल्चेस्थित लिदीमा गएको भिषण पहिरोमा ३७ घर पुरिएका र पहिरोले पुरिएर बेपत्ता भएका ३९ जनाको मृत्यु भएको थियो ।

२०७८ असार १ गते साँझदेखि सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, ब्रह्मायणी र भोटेकोशीमा भिषण बाढी आउँदा मेलम्ची खोलाले तिम्बु, चनौटे र मेलम्ची बजारमा ठूलो क्षति पुगेको छ । नदी तटीय क्षेत्रबाट ५० हाराहारीमा मानिस सम्पर्कविहीन भएका प्रहरीको भनाई रहेको छ । मानवीय क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

इन्द्रावतीले मेलम्ची–नवलपुर जोड्ने पक्की पुल बगाएको र मेलम्ची बजारमा ठूलो क्षति पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्