
युरो कपमा बुधवार बिहान सम्पन्न खेलमा जर्मनीका डिफेन्डर एन्टोनियो रुडिगरले फ्रान्सका खेलाडी पल पोग्बाको ढाडमा टोकेका छन् ।
पहिलो हाफ सकिन लागेको बेलामा यी दुई खेलाडी नजिकै परेका थिए । रिप्ले हेर्दा रुडिगरले पोग्बाको ढाडमा टोकेको अनि उनको छाती समातेको देखिन्छ ।
पोग्बाले यसबारेमा रेफ्रीको ध्यानाकर्षण गर्न खोजेका थिए तर रेफ्रीले केही गरेनन् अनि भार रिभ्यु पनि गरिएन ।
यस विषयमा पछि पोग्बाले भने, ‘हामी साथी हौं । यो कुनै ठूलो कुरा हैन । तपाईंहरूले टीभीमा देखिहाल्नुभयो । अब यो कुरा सकियो । यो विगतको कुरा भयो । यस्ता काममा म पहेंलो वा रातो कार्डको लागि रोइकराइ गर्दिनँ । उनले मलाई हलुका टोके जस्तो लाग्छ ।’
यो घटनापछि इन्टरनेटमा मिमहरूको बाडी आयो । धेरैजनाले दन्ते फूटबलर लुइस सुआरेजको प्रसंग सम्झिए ।