
मेलम्ची र इन्द्रावती खोलामा पहिरो मिसिएर आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका सयौं घरमा क्षति पुगेको छ।
उक्त गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्ष छिरिङ ग्याल्बु लामाका अनुसार वडा नम्बर १,२,३,४,६ र ७ मा सबैभन्दा बढी क्षति भएको छ।
अहिलेसम्म उक्त गाउँपालिकाका ६० भन्दा बढी मानिसहरू बेपत्ता रहेको उनले बताए।
‘मेलम्चीको खोला पहिलेको भन्दा १५ मिटरमाथि आएको छ, पहिलेको खोला अहिले सतहबाट १५० मिटर फराकिलो भएर बगिरहेको छ,’ वडाध्यक्ष लामाले भने, ‘वडा नम्बर १ को माथि हिम टापु फुटेको हो कि भन्ने हामीलाई आशंका लागेको छ।’
अहिले १ घण्टादेखि बाढीमा लेदो आउन रोकिएको छ। यस अघि ढुंगा, गिट्टी, बालुवा, रुख, बिरुवासहितको लेदो आइरहेको थियो। अहिले पनि पानी परिरहेको कारण थप खतरा कायम रहेको उनी बताउँछन् ।
‘रातभर डराएर हामी धेरैले आफ्नो ज्यान जोगायौं, तर कतिपय मानिसहरू अहिलेसम्म बगेर बेपत्ता भएका छन् । कतिपय अझै पनि फसेका छन । उनीहरूको उद्धारको काम जारी छ,’ लामाले लोकान्तरसँग भने, ‘अहिले हामी सबै मानिसहरू माथि आएर एक ठाउँमा बसिरहेका छौं, अन्यत्र सुरक्षित स्थानको समेत खोजी गरिरहेका छौं।’
खोला आसपासका क्षेत्रमा अहिले पनि जोखिम यथावत रहेको उनको कथन छ । ‘टिम्बु बजार लगिसक्यो,पाल्चोक शिरा बजार सबै लगिसक्यो, क्यूरीकाविर कुञ्जा, ग्यालथुम बजारमा अहिले पनि जोखिम छ,’ लामाले भने, ‘मेलम्ची खनेपानी मुहानमा काम गर्ने ३९ जनालाई एकै ठाउँबाट बाढीले लगेको कुरा आएको छ।’
हिजो ७ बजेपछि अचानक बाढी पहिरो गाउँमा पसेको थियो। त्यसअघि कुनै संकेत वा सूचना नभएका कारण पनि बढी क्षति भएको हेलम्बु गाउँपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष हर्क बहादुरतामाङ बताउँछन् ।
‘हेलम्बु गाउँपालिकाको वडा नम्बर १ स्थित मेलम्ची खानेपानीको मुख्य मुहान (इन टेक)भन्दा धेरैमाथि ठूलो पहिरो लागेर खोला थुनिएको रहेछ,’ तामाङले लोकान्तरसँग भने, ‘खोला थुनिएर पोखरी फुटेपछि एक्कासि बाढी आएको देखियो। ’
तलतिरका मानिसले थाहा नपाएर पनि यति ठूलो क्षति भएको उनको कथन छ। मेलम्चीको पानी पनि छोड्छ भन्ने कुरा थियो।
अहिले स्थानीयदेखि संघीय सरकारका सबै संयन्त्रहरू सेना तथा प्रहरी उद्धारमा लागेका छन् ।
अप्ठ्यारोमा परेका मानिसदेखि बिरामीलाई उद्धार गरेर काठमाडौं लग्ने काम जारी रहेको उनले बताए।
उनका अनुसार पनि हेलम्बु गाउँपालिकाको वडा नम्बर १ को सबै भाग, वडा नम्बर २,३,४,६ र ७ को तल्लो भागका बस्तीलाई बढी प्रभावित बनाएको छ । त्यसबाहेक मेलम्ची नगरपालिकादेखि तल दोलालघाटसम्म, इन्द्रावती गाउँपालिकामा धेरै क्षति गरेको छ।
मेलम्ची खानेपानीको सुरुङ हेलम्बु गाउँपालिकाको वडा नम्बर ५ भएर नै आउँछ। तर, त्यतापट्टि पानी पस्न सकेन। सबै गाउँबस्तीमा बाढीको पानी छिरे पनि वडा नम्बर ५ मा मेलम्चीको सुरुङ भए पनि जोगिएको थियो। ‘सबै तलपट्टि बगेका कारण हाम्रो वडा जोगियो,’ उनले भने।
रातभर मानिसलाई निन्द्रा लागेन । आफ्नो सारा चिज गुमाएपछि मानिसले के गर्ने, सबै जागेर त्रासमा रात कटाउन बाध्य थिए। १२ वटा माछापोखरी सबै बग्यो । पक्की घरहरूमा समेत भत्किएका कारण खेतीयोग्य जग्गाको क्षतिको त कुरै भएन। ‘टिम्बु, चनाउटे, झ्यालथुंग, मेलम्ची लगायतका ठाउँमा पक्की घरहरू भत्किएका छन्, कतिपय घरहरू अहिले पनि पूरिएको अवस्थामा छन्,’ उनले भने, ‘अहिले कतिपय घर खोलाभित्र नै परेको जस्तो देखिन्छ ।’
मेलम्ची खानेपानीको मख्य मुहान त ध्वस्त नै भएको उनले बताए। हजारौं घरहरू क्षतिग्रस्त भयो। पक्की पुलहरू गयो। खोलामा रहेको पक्की पुलदेखि झोलुंगे पुल सबै ध्वस्त भएको उनले बताए।
‘कतिपय खोलामा त अहिले पुल नै छैन, सबै बाढीले बगायो,’ उनले भने, ‘हेलम्बु वडा नम्बर १ मा भर्खर उद्घाटन गरिएको पक्की पुल पनि बगाएर लगेको छ।’
शिवघाटदेखि माथिका सबै पुल बगेको छ भने तलका पनि धेरैजसो पुलहरू भत्किएको छ। टिम्बुको पुल, मेलम्ची बजारदेखि सदरमुकाम जाने ठूलो पक्की पुल समेत बगेको उनले बताए।
हेलम्बु गाउँपालिकामा अहिलेसम्म ५० जना भन्दा बढी मानिस सम्पर्कबिहीन रहेको उनले बताए।