२२ जेठ २०८३, शुक्रबार

कालीगण्डकीले तटबन्ध बगाएपछि बेनीमा कटान

असार ३, २०७८
कालीगण्डकीले तटबन्ध बगाएपछि बेनीमा कटान
फाइल फोटो

कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकाम बेनी बजार कटानको उच्च जोखिममा परेको छ ।

बेनी नगरपालिका–८ संगम चोकको पछाडि र कालीपुल बसपार्क क्षेत्रमा मंगलवार राति कालीगण्डकीले तटबन्ध बगाएर कटान गरेको हो ।

२ ठाउँमा करीब ३० मिटर तटबन्ध बगाएर बजारतर्फ कटान गर्न थालेको क्याम्पसचोक टोल सुधार समितिका अध्यक्ष ठाकुर शर्माले बताए ।

‘तटबन्ध भत्काएर बजारतर्फ कटान शुरू गरेको छ,’ उनले भने, ‘तत्काल नियन्त्रण नगरे बर्खामा बेनी बजारमा थप क्षति हुन्छ ।’ रुपाताल एकीकृत विकास संरक्षण परियोजनामार्फत बेनी बजार संरक्षणका लागि कालीगण्डकी र म्याग्दी नदी किनारमा पक्की तथा ग्यावियन पर्खाल निर्माण हुँदै आएको छ । 

तटबन्ध भत्किएपछि कालीगण्डकीको भँगालो बजारतर्फ सोझिएर कटान गर्न थालेको हो । बेनी–७ मा पर्ने बेनी बजारमा १ हजारभन्दा बढी घरधुरीको बसोबास छ । ३० भन्दा बढी सरकारी कार्यालयका भवन छन् ।

गत शनिवार कुरीलाखर्क, महारानी थानदेखि बेनी–अर्थुङ्गे सडकबाट आएको बाढी पसेर मंगलाघाटमा रहेको वन डिभिजन, भू–संरक्षण र कृषि ज्ञान केन्द्रको आवास क्षेत्रका ७ वटा भवनसँगै नर्सरीमा क्षति पुर्‍याएको थियो । 

जामुनाखर्कको पाखोबाट आएको बाढीले बेनीको अस्पताल चोक र कालीपुल बसपार्कलाई बगरमा परिणत गरेको छ । बसपार्कको सडक र पार्किङ क्षेत्रमा बाढी थुप्रिएर बगर बनेको स्थानीय रुद्र सुवेदीले बताए । माथिल्लो क्षेत्रमा पहिरो जाँदा मुख्य नदीमा बाढीको आयतन बढेर तटीय क्षेत्रमा कटानको जोखिम बढाएको हो । 

पहिरोले पाइपलाइनमा क्षति पुर्‍याएपछि बेनी बजारमा खानेपानी आपुर्ति बन्द भएको छ । बुधवार साँझदेखि म्याग्दीमा विद्युत् समेत अवरुद्ध भएको छ । बेनीदेखि ग्रामीण बस्ती, छिमेकी जिल्ला बागलुङ, पर्वत, मुस्ताङ र प्रदेश राजधानी पोखरा जोड्ने सडक अवरुद्ध भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्