बरेली, २२ जेठ– भारतको उत्तर प्रदेश राज्य अन्तर्गतको बरेलीमा बस दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । दिल्लीबाट गोंडा गइरहेको सरकारी स्वामित्वको यातायात निगम (रोडवेज) बस दुर्घटनामा २२ जनाको मृत्यु भएको हो ।
बरेलीमा एक ट्रकसँग ठोक्किँदा बस पूर्ण रुपमा जलेर नष्ट भयो । सँगै बसमा सवार २२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।
दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर भएकाले मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।
दुर्घटना आइतवार मध्यराती भएको जनाइएको छ । दिल्लीबाट यात्रु बोकेर गोंडा गइरहेको बस बरेलीमा पुग्दा दुर्घटनामा परेको हो । बस दुर्घटनामा परेका बेला बसभित्रका धेरै यात्रु सुतिरहेका थिए ।