
चितवन जिल्लामा कोरोना भाइरसको संक्रमण बढेसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा १ हप्ताका लागि थप गरिएको छ ।
जिल्ला कोभिड व्यवस्थामा केन्द्र (डीसीएमसी) को बुधवार सम्पन्न बैठकले बिहीवार रातिदेखि सकिन लागेको निषेधाज्ञा १ हप्ताका लागि थप गरेको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले एक आदेश जारी गर्दै असार १० गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरेको हो ।
निषेधाज्ञा थप गर्दा यसअघि जारी आदेशलाई निरन्तरता दिएको छ । आदेशले डिपार्टमेन्ट स्टोर्स खुल्न पाउने उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले खाद्यान्न विक्री वितरण गर्ने डिपार्टमेन्ट स्टोर्स खोल्न दिने निर्णय भएको जानकारी दिए । यसअघिको निषेधाज्ञालाई नै यथावत राखिए पनि डिपार्टमेन्टल स्टोर्सका हकमा केही खुकुलो बनाइएको छ ।
पुस्तक पसल स्वास्थ्य मापदण्डको पालना गर्दै खोल्नुपर्ने आदेशमा उल्लेख छ । मृत्यु संस्कारमा जाँदा २५ जना भन्दा बढी सहभागी नहुन, रासायनिक मल तथा कृषि बीउबिजन विक्री वितरण गर्ने पसल सञ्चालन गर्न पाइने जनाइएको छ ।
सवारीसाधन मर्मत केन्द्रमा तीनजना भन्दा बढी नराखी काम गराउनुपर्ने जनाइएको छ ।
चितवनमा गत वैशाख १६ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी छ । जिल्लामा हालसम्म १५ हजार १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १ हजार ४२९ जना सक्रिय संक्रमित हुन् ।
सक्रिय संक्रमितमध्ये १२९ जनाको अस्पतालमा उपचार भइरहेको छ भने अन्य सार्वजनिक आइसोलेसन तथा होम आइसोलेसनमा रहेका छन् ।
कोरोनाका कारण चितवन जिल्लामा २५२ जनाको मृत्यु भइसकेको छ ।