२१ जेठ २०८३, बिहीबार

कोरोना बिर्साउँदै किसानलाई धान रोपाइँको चटारो

असार ३, २०७८
कोरोना बिर्साउँदै किसानलाई धान रोपाइँको चटारो
फाइल फोटो

निषेधाज्ञा र कोभिड–१९ महामारीको मनभरिको त्रासलाई थन्क्याउँदै खेतमा छपक्कै छरिएका छन् किसानहरू । न मुखमा मास्क छ, न त हातमा स्यानिटाइजर नै ।

बिहानैदेखि साँझ नपरेसम्म कोही खेतको डिलमा आली लगाउँदै, कोही माटो पल्टाएर सम्याउदैै, कोही ब्याडमा धानको बीउ काढ्दै त, कोही महिला हातभरि बीउ लिएर गाँभो खेतमा गाड्दै । 

अचेल भक्तपुरमा मात्रै नभई काँठका अधिकांश क्षेत्रमा दैनिक देखिने दृश्य हुन् यी । धान रोपाइँको यो पर्वले खेतमा रहेसम्म कोरोना भाइरसको त्रासलाई बिर्साइदिन्छ, मानौं कि देश कोरोना भाइरसबाट मुक्त भइसक्यो । 

‘मानो रोपेर मुरी फलाउने बेला, त्यसमाथि पनि यस वर्ष बेलैमा मनसुन भित्रिएको छ, धान रोपाइँ बेलैमा सक्न पाए, धान राम्रो फल्ला कि भन्ने आशा छ, कोरोनाले किसानको यो पर्वलाई कहाँ छेक्न सक्छ र ?’ रोपाइँका क्रममा खेतको माटो पल्टाउँदै गरेका चाँगुनारायण नगरपालिका–९ ताथलीका रोशन गिरी भन्छन् ।

यस वर्ष छिट्टै पानी परेपछि कोरोनाको कहरबीच किसानलाई धान रोप्ने चटारो परेको छ । काँठ क्षेत्रका अधिकांश ठाउँमा धान रोपाइँ भइरहेको छ तर खेताला नपाउँदा भने समस्यामा छन् किसानहरू । 

काँठ क्षेत्रमा गोरु पाल्न छाडिसकेका छन् । ट्रयाक्टर लगायतका नयाँ प्रविधि त्यति धेरै भित्रिएका छैनन्, केही वर्ष अघिसम्म भक्तपुरमा काभ्रे र सिन्धुपाल्चोकदेखिका मानिस आएर ज्यालामा खेत रोपाइँ सकेर जान्थे, केही वर्ष यता त्यसरी आउन छाडेका छन् । यहाँ भएकाहरू कोही विदेशिएका छन्, धान रोपाइँमा ज्यालामा मानिस नपाउँदा र पर्मको प्रचलन बिस्तारै हराउँदै गएपछि धान रोपाइँमा भने समस्या परेको बताउँछन् ताथलीका दिवाकर खड्का । 

कोरोनाको त्रासले किसानको दिनचर्यालाई नरोक्ने बताउँछन् सूर्यविनायक नगरपालिका–८ सिपाडोलकी सन्तोषी नगरकोटी । उनी हाँस्दै भन्छिन्, ‘कोरोनाको त्रास त छ नि, खोप लगाउन पाए हुन्थ्यो, खै सरकारले हामीलाई पुग्ने गरी खोप कहिले दिने हो, कोरोनाको डरले खेती गर्नै छाड्नु त भएन नि !’
 
असारे भाका हाल्दै रोपाइँलाई बिट मार्ने चलन अहिले काँठमा हराउँदै गएको छ । दिउँसो खेतको आली र चौरमा वरिपरि बसेर साँधेको आलुको अचार, तरकारी र चिउरा खाजा खाने प्रचलन पनि काँठमा हराउँदै गएको छ । सूर्यविनायक–१० चित्तपोलकी सुमित्रा थापा भन्छन्, ‘पहिलाको जस्तो रौनक छैन अचेल, धान रोप्दा हिलो छ्याप्ने, बीउको मुठाले हान्ने, असारे भाका हाल्ने चलन हराइसक्यो, असारे गीत गाउँदा मेलो सरेको पत्तै हुँदैन्थ्यो, खाजा खाँदा त्यो मिठो स्वाद अहिले कहाँ पाउनु र ?’

खेतमा आली लगाउने, माटो पल्टाउने, माटो सम्याउन बाउसे गर्ने काम पुरुषको हुन्थ्यो, ब्याडमा गएर बीउ काढ्ने र धान रोप्ने काम महिलाको हुन्थ्यो तर अहिले पुरुष ज्यामी पाउनै छाडेपछि कतिपय ठाउँमा महिला आफैंले माटो पल्टाउने, सम्याउने र रोप्ने गर्न थालेका छन् । यद्यपि ज्यालामा विभेद भने कायमै छ । अहिले दिनभरि काम गरेको पुरुषले १ हजार ५०० ज्याला पाउँछन् भने महिलाले १ हजार पाउँछन् । तर विगतका वर्षमा भन्दा फरक भइसकेको छ अचेल मेला पर्मको काम । – रमेश गिरी/रासस

salt training

कमेन्ट गर्नुहोस्